रुपन्देही । चौधरी ग्रुपको एफएमसीजी कम्पनी सिजी फुड्सले भारतको बिकाजी फुड्स इन्टरनेशनलसँग सहकार्य गर्दै नवलपरासीस्थित सिजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्री निर्माणको शिलान्यास गरेको छ ।
बुधबार आयोजित भूमिपूजन समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी तथा कम्पनीका वरिष्ठ अधिकृतहरूको उपस्थितिमा प्लान्टको शिलान्यास गरे ।
जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुपका धेरै व्यवसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड भएर ठूलो क्षति पुगेको थियो ।
यद्यपि, त्यस्ता घटनाले ग्रुपको नेपालप्रतिको प्रतिवद्धता कमजोर नबनेको प्रबन्ध निर्देशक निर्वाण चौधरीले यसअघि नै सार्वजनिक रूपमा बताएका थिए । त्यसको करिब डेढ महिना नबित्दै चौधरी ग्रुपले नेपालमै बहुराष्ट्रिय कम्पनीको लगानी भित्र्याउँदै नयाँ औद्योगिक परियोजना अघि बढाएको हो ।
बिकाजीसँगको साझेदारीमा निर्माण हुन लागेको यो प्लान्टमार्फत भुजिया, नमकीनलगायत बिकाजीका लोकप्रिय स्न्याक्स उत्पादन गरिने भएको छ । यो लगानीले नेपालको खाद्य उद्योगमा नयाँ गति आउने, आयात निर्भरता घट्ने तथा उपभोक्ताले विश्वस्तरीय उत्पादन पाउने ग्रुपको अपेक्षा रहेको छ ।
५० करोड रुपैयाँको लगानी रहने यो प्लान्टले करिब ४०० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिने बताइएको छ ।

