सोमबार, असोज २७, २०८२

जेनजी आन्दोलनबारे न्यूयोर्क टाइम्स: प्रमाणहरूले अरू नै संकेत गर्छन्

काठमाडौं । सेप्टेम्बर ९ (भदौ २४ गते) को एकै दिन दिउँसोका केही घन्टाहरूमा नेपालका राज्यसत्ताका धेरैजसो संरचनाहरू आगोले खरानीमा परिणत भए । हिमाली राष्ट्रभरि भएका सुनियोजित आगजनी हमलाहरूमा एउटा ऐतिहासिक दरबारदेखि सर्वोच्च अदालतसम्म, ठूला मन्त्रालयदेखि वडा कार्यालयसम्म गरी सयौँ सरकारी भवनहरू नष्ट गरिए ।

यसबाहेक, सयौँ अन्य सरकारी भवनहरूलाई पनि निशाना बनाइयो, जसमा राजनीतिक अभिजात वर्गसँग जोडिएका व्यवसाय र विद्यालयहरू, साथै बहालवाला र अवकाशप्राप्त नेताहरूको घर पनि सामेल थिए।

यो व्यापक आगजनी, त्यसको एक दिनअघि काठमाडौंमा भएका विरोध प्रदर्शनका क्रममा १९ जना भ्रष्टाचारविरोधी प्रदर्शनकारीलाई सुरक्षा बलले गोली हानी मारेपछि भएको थियो।

उक्त घटनापछि आम रूपमा १९ गतेको हत्यापछि युवा प्रदर्शनकारीहरूको भीडले आक्रोशित भई बदला लिन खोज्यो र प्रतिशोधात्मक आक्रोश बढ्दै जाँदा उनीहरूले आगजनी गरेको भन्ने बुझाइ बनेको छ ।

तर न्यूयोर्क टाइम्सले दर्जनौँ प्रत्यक्षदर्शी, सहभागी र आगजनी विशेषज्ञसँगका अन्तर्वार्ताहरू; घटनास्थलका तस्बिर र भिडियोहरूको विश्लेषण र न्यूयोर्क टाइम्सका पत्रकारहरूले गरेका स्थल अवलोकनहरूका आधारमा गरेको अनुसन्धानले नयाँ तथ्यहरू उजागर गरेको छ। त्यति धेरै सुनियोजित र राष्ट्रव्यापी विनाश अभियान अघिल्लो दिन भएका मृत्युहरूको पूर्णतया स्वतःस्फूर्त प्रतिक्रिया मात्र हुन सक्दैन।

सेप्टेम्बर ८ का गोलीकाण्डका केही घण्टा पछि नै ‘प्रयोग गर्न तयार सूचीहरू’ अनलाइनमा देखिन थाले, जसमा नेपालका भ्रष्टाचार र यसको संरक्षण सञ्जालको हिस्सा भएका भनिएका व्यक्तिहरूका निजी विवरणहरू सार्वजनिक गरिएको थियो।

भोलिपल्ट दिउँसोसम्म ती मध्ये धेरै व्यक्तिहरूका घरहरूमा आगो लगाइयो। नेपालका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका (राज्यका तीनै अङ्ग) पनि आगोको चपेटामा परे ।

विनाशको मात्रा केही घन्टाभित्रै सयौं हवाई हमलाहरूले गरेको क्षतिजस्तै प्रलयकारी थियो ।

यसमा तपाईको प्रतिक्रिया