आइतबार, साउन १०, २०८३

अकुत सम्पत्ति छानबिन गरी कारबाही नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नयाँ शक्तिको अभियानबाट आफू अलग नभएको प्रष्टीकरण दिएका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षबाट बुधबार पद त्याग गरेका उनले आज पत्रकार सम्मेलन गरी यस्तो प्रष्टीकरण दिएका हुन् । विद्रोहका बेला दुलाभित्र लुकेर बसेका पुराना भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्किएर सलबलाएको प्रति सचेत रहन उनले आग्रह गरेका छन् ।

‘म कुनै आन्दोलनबाट अलग भएको छैन । नयाँ वैकल्पिक शक्तिको अभियानमा हिजो पनि थिएँ, आजपनि छु, भोलि पनि रहन्छु । हाम्रा नाति पुस्ता आइसके उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ भनेर मैले नैतिकताका आधारमा पद त्याग गरेको हुँ । नयाँ शक्ति अभियानबाट अलग भएको छैन । यसमा विल्कुल भ्रम नरहोस्’, उनले भने ।

राजनीति स्थायित्वका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन अनिवार्य भएको उनले दोहोर्‍याए । भट्टराईले भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्नेमा जोड दिए ।