काठमाडौं । तोकुतेइ गिनोउ इकुसेई ट्रेनिङ एण्ड भोकेशनल कलेजले आफ्नो स्थापनाको ११औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।
नेपालबाट जापानमा वर्किङ भिजामा जान चाहने विद्यार्थीहरुलाई भरपर्दो र गुणस्तरीय भाषा र सीपयुक्त तालिम दिंदै आएको ट्रेनिङ सेन्टरले सोमवार एक कार्यक्रमको बीच ११औं वार्षिकोत्सव मनाएको हो ।
वर्किङ भिजामा जापान जाने विद्यार्थीहरूको तयारी कक्षालाई विशेष प्राथमिकता दिएर सञ्चालनमा रहेको ट्रेनिङ सेन्टरले ११ वर्षे यात्रामा उत्कृष्ट सेवा प्रवाह गरी ख्याती कमाएको संस्थाका निर्देशक एवं सीईओ राजेन्द्र केसीले बताए । दक्ष जापनिज भाषा प्रशिक्षक र कुशल व्यवस्थापनको कारण छोटो समयमा नै संस्थाले सेवाग्राहीको विश्वास हासिल गर्न सफल भएको छ, सीईओ केसीले भने, हामीले प्रशिक्षार्थीको सीप विकासका लागि समय समयमा जापानिज प्रशिक्षक र विभिन्न कम्पनीहरूका प्रतिनिधिसमेत बोलाएर जापानमा गरिने काम र भाषा दक्षता सम्बन्धी प्रशिक्षण दिने गरेका छौं ।
यस्तै घटस्थापनाको दिन परेको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि जापानको एसियन युनिटी कम्पनीका अध्यक्ष युकिनोरी नोमुराले पनि संस्थाले उत्पादन गरेका विद्यार्थीहरू एकदमै कुशल र जापान गएर राम्रो कार्य गरिरहेको भन्दै बधाई तथा शुभकामना व्यक्त गरे ।
त्यस्तै आगामी दिनमा आफ्नो सेवासुविधा अझ चुस्त दुरुस्त रुपमा अगाडि बढाउँदै विद्यार्थी एवं सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्ने संस्थाका निर्देशक महेश श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे ।

