शुक्रबार, कार्तिक २२, २०८२

दर्जनौँ सामाजिक सञ्जाल नेपालमा निष्क्रिय, सूचीकरण गर्दा एक पैसा लाग्दैन

काठमाडौँ ।  सरकारले फेसबुक, एक्स (ट्विटर)सहित सूचीकरण हुन अटेरी गरेका दर्जनौँ सामाजिक सञ्जाल नेपालमा तत्काल निष्क्रिय गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको मन्त्रिस्तरीय निर्णयअनुसार नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने कम्पनी वा व्यक्तिले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सात दिनभित्र निवेदन दिनुपर्ने व्यवस्था भए पनि तोकिएको समयसीमा भित्र सूचीकरणका लागि सम्पर्क नगरेका सञ्जालहरूलाई बन्द गर्ने निर्णय लिइएको हो।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिँदै भने, “सर्वोच्च अदालतले अनलाइन तथा सामाजिक सञ्जाल सञ्चालनपूर्व अनिवार्य रूपमा सूचीकरण गर्न सरकारलाई निर्देशन दिएको थियो। सोही आदेशको कार्यान्वयनस्वरूप सरकारले आजैदेखि सूचीकरण नगरेका सञ्जाललाई बन्द गर्ने निर्णय गरेको हो।”  उनका अनुसार, सूचीकरण गर्दा कुनै शुल्क लाग्दैन, तर अटेरी गर्नेहरूमाथि बाध्य भएर कडा कदम चालिएको हो।

सूचीकरणका लागि निवेदन दिएपछि सम्बन्धित सञ्जालहरू सोही क्षणदेखि पुनः सक्रिय हुने व्यवस्था गरिएको छ। मन्त्रालयले गरेको अध्ययनअनुसार नेपालमा करिब २४–२५ वटा ठुला तथा मझौला सामाजिक सञ्जाल सक्रिय छन्। मेटा कम्पनी मातहतका प्लेटफर्महरूलाई समेत यस निर्णयले असर गर्नेछ। नेपाल सरकारको निर्देशनअनुसार दूरसञ्चार प्राधिकरणले आजदेखि नै कार्यान्वयन सुरु गर्नेछ।