शुक्रबार, बैशाख ०४, २०८३

प्रधानमन्त्रीको चीन भ्रमणको तालिका सार्वजनिक, राष्ट्रपति सी सँग भेटवार्ता हुने

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ देखि १८ गतेसम्म गर्ने चीन भ्रमण गर्ने तालिका सार्वजनिक गरेको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी भ्रमण तालिका सार्वजनिक गरेको हो । प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेका हुन् । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्नेछन् । त्यस्तै उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने तय भएको छ ।

प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियानजिनमा आयोजित ’एससीओ प्लस समिट’लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको टोलीमा शिक्षामन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का र छबिलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा तथा उच्च सरकारी अधिकारीहरू सहभागी हुनेछन् ।

साथै, शिखर सम्मेलनको अवसरमा उनले सहभागी अन्य विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओली भ्रमण पूरा गरेर भदौ १८ गते स्वदेश फर्किने छन्।