बिहिबार, बैशाख ०३, २०८३

पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?

काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एमालेलाई अब सत्ता र स्वार्थको जोडघटाउमा नभई विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट गर्नुपर्ने बताएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत पाण्डेले फेरि पनि एकताका लाग्नुको साटो पार्टी सुधारमा लाग्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि ‘वाम एकता’ को दौडधुपमा हुनुहुन्छ। हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन । तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?’

उनले एमाले आफैँमा बलियो र ऐतिहासिक बिरासत बोको पार्टी भएकाले दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी रहेको बताए ।

उनले भनेका छन्, ‘नेकपा (एमाले) आफैंमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी हो। हामीले तात्कालिक राजनीतिक लाभमात्र हेरेर हुँदैन, दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी छ। विचार र निश्चित गन्तव्य विनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई डाइल्युट मात्र गर्छ। अहिलेको वास्तविक आवश्यकता भनेको पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु हो। यसो नगरिए पार्टी झन् साँघुरिँदै जाने निश्चित छ।’

उनले विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम भोगिसकेको भन्दै त्यसमा लाग्न नहुने बताए ।

उनले भने, ‘विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौँ। हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ। नेकपा (एमाले) लाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट हामीले गर्नैपर्छ।’

यसमा तपाईको प्रतिक्रिया