बुधबार, बैशाख १२, २०८१

हत्या गरी वैदेशिक रोजगारीमा गएकालाई १६ वर्षपछि पक्राउ

झापा,१७ साउन  । जिल्लाको खुदुनाबारीमा रहेको शिविरमा एक भुटानी शरणार्थीलाई १६ वर्षअघि हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साबिक खुदुनाबारी–७ का भुपेन्द्र भनिने भीमबहादुर भट्टराई छन् ।

खुदुनाबारीस्थित शरणार्थी शिविरको सेक्टर ए टुको हट नं. ३१ मा बस्दै आएका सन्तबहादुर अधिकारीको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय, अनारमनी उनलाई पक्राउ गरेको हो ।

भट्टराईमाथि सामान्य विवादमा २०५८ साल चैत २६ गते खुकुरी प्रहार गरी अधिकारीको हत्या गरेको आरोप छ । इलाका प्रहरी कार्यालय, अनारमनीका प्रमुख डिएसपी केशवकुमार थेवेका अनुसार घटना भएको समयमा मादक पदार्थ सेवन गरेका भट्टराईले शिविरको चौकीदार गरिबसेका अधिकारीलाई राति टर्च लाइट माग्दा नदिएपछि विवाद भएको थियो ।

त्यसपछि विवाद बढ्दै जाँदा भट्टराईले नजिकैको सुखानी खोलामा लगेर अधिकारीको हत्या गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ ।
भट्टराईलाई पुरानो हुलियाको आधारमा साउन ४ गते बिर्तामोडको मुक्तिचौकबाट पक्राउ गरिएको हो ।

अधिकारीको निर्ममतापूर्वक हत्या गरी सोही राति भट्टराई काठमाडौं गएको उनले प्रहरीलाई बयान दिएका छन् । बयानमा त्यसपछि वैदेशिक रोजगारीका सिलसिलामा १२ वर्षजति मलेसिया, कम्बोडिया र भियतनाममा बसेको उल्लेख छ ।

करिब २ वर्षअघि नेपाल आएर बिहेसमेत गरेका भट्टराईलाई पहिले ५ र अहिले १० दिन म्याद थपी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यस घटनामा मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३ (३) अन्तर्गत जन्मकैदको सजाय हुने कानुनी व्यवस्था रहेको छ ।