काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पद रिक्त रहेको अवस्थामा कानुनले नचिनेको व्यक्तिलाई आयोगको बैठकमा उपाध्यक्षको हैसियतमा सहभागी गराइएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय चिकित्सा शिक्षा आयोगसम्बन्धी बैठकमा उपाध्यक्ष पद रिक्त हुँदाहुँदै श्रीकृष्ण गिरीलाई उपाध्यक्षको रूपमा उपस्थित गराइएको जिकिर गरे ।
उनले भने, ‘हिजो एउटा अनौठो घटना घट्यो। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा नेपालको कानुनले नचिनेको मान्छे त्यहाँ बैठक स्थलमा हुनुहुन्थ्यो र उहाँ उपाध्यक्षको हैसियतले हुनुहुन्थ्यो। राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ ले व्यवस्था गरे अनुसार उपाध्यक्षको पद खाली भएको कुरा सबैलाई थाहा छ।’
नयाँ उपाध्यक्ष छनोटका लागि १० जनाले आवेदन दिइसकेको भन्दै छनोट प्रक्रिया लोक सेवा आयोगका अध्यक्ष, मुख्य सचिव तथा सम्बन्धित सदस्यहरू सम्मिलित समितिमार्फत अगाडि बढिरहेको बताए।
उपाध्यक्ष पद रिक्त रहेको अवस्थामा छात्रवृत्तिसम्बन्धी दीर्घकालीन महत्वको कार्यविधि स्वीकृत गर्ने बैठकमा कानुनी हैसियत नभएको व्यक्तिलाई उपाध्यक्षका रूपमा सहभागी गराइनु नियम विपरीत भएको बताए।
उनले थपे, ‘उहाँ कसरी उपाध्यक्षको रूपमा प्रधानमन्त्रीको त्यो कार्यक्रममा पुग्नुभयोरु चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष खाली छ। उहाँलाई कानुनले चिन्दैन। कार्यवाहक दिनुपर्ने भए त्यहीँको वरिष्ठलाई कार्यवाहक दिएर तत्काल काम चलाइन्छ तर त्यसो भएन। बाहिरको मान्छे ल्याएर नियुक्त गरियो र त्यो अवैध बैठक बैठकमा अवैध ढङ्गले उहाँलाई उपस्थित गराइयो। यो प्रक्रिया अविलम्ब बन्द होस्।’

