बिहिबार, मङि्सर २०, २०८१

कोरिया जाने कामदारका लागि सीप परीक्षण एक वर्ष ढिलाई हुने

काठमाडौं,१६ साउन । दक्षिण कोरिया जाने नेपाली कामदारका लागि सीपमा आधारित परीक्षा प्रणाली लागू गर्न एक वर्ष ढिलाई हुने भएको छ ।

कोरियाले सन् २०१९ देखि नेपालबाट कामदार लैजाँदा सीप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको छ । तर, नेपालको कमजोर तयारीले थप एक वर्ष ढिलो हुने अवस्था आएको हो । नेपालले प्राविधिक तयारी गर्न अप्ठ्यारो हुने भन्दै सन् २०२० बाट मात्रै सीपमा आधारित भाषा परीक्षा सुरु गर्ने योजना बनाएको छ ।

यसअनुसार रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण गरी रोजगारीका लागि कोरिया जाने क्रम २०१९ सम्म मात्रै चल्नेछ । त्यसपछि हातमा सीप नभएका युवालाई कोरियाले ‘अयोग्य’ ठहर्‍याउने छ  । यो पद्धति लागू भएपछि कोरिया जानेहरुले भाषा परीक्षा पनि कम्प्युटरमार्फत नै दिनुपर्ने छ ।

 

के हो सीप परीक्षण ?

सीपमा आधारित परीक्षा प्रणाली लागू भएपछि अहिलेको २ सय पूर्णांकको सुनावाई र लेखाइको परीक्षा प्रणालीलाई पूर्ण रुपमा परिमार्जन गरेर नयाँ स्वरुप दिइनेछ । अब उसले दाबी गरेको सीप परीक्षण गरेर मात्रै कामदारलाई विदेश लगिनेछ ।

जस्तो उत्पादनमुलक समूहको स्टिल फिक्सङ समूहमा जाने गरी आवेदन गरेका कामदारले भाषा पास भएपछि सीपको परीक्षा दिनुपर्नेछ । कोरियाले नयाँ अंक प्रणालीमा अब भाषा परीक्षामा सय र सीप परीक्षणमा पनि सयकै पूर्णांक कायम गर्ने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभारक भण्डारीले जानकारी दिए ।

नयाँ प्रणालीले कामदारको शारीरिक अवस्था, बनोट र तन्दुरुस्तीलाई पनि परीक्षण गर्नेछ । साथै कामदारको सीपको लेभल र कार्य अनुभवका आधारमा पनि अंक दिइनेछ ।