सोमबार, फागुन २५, २०८२

कुमारी बैंकको नाफा एकै वर्षमा २ अर्ब नाघ्यो

काठमाडौं । कुमारी बैंकको नाफामा उछाल आएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कुमारी बैंकले २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकको यस्तो नाफा अघिल्लो वर्ष ४६ लाख रुपैयाँ थियो ।

कर्जा असुली बढेसँगै बैंकको नाफा उच्च दरमा बढेको छ। खराब वर्गमा वर्गीकृत कर्जा असुल हुन थालेपछि बैंकले नोक्सानी व्यवस्थापनमा राखिएको रकम घटाएर नाफामा देखाउन पाएको हो।

बैंकले नाफा बढाउनुमा इम्पेयरमेन्ट चार्ज घटाउनु प्रमुख कारण देखिन्छ । बैंकले इम्पेयरमेन्ट चार्ज ६ अर्ब ८४ करोडबाट २ अर्ब ७९ करोड रुपैयाँमा झारेको छ। साथै, बैंकले अघिल्लो वर्ष पाउनुपर्ने ब्याजबापतको २ अर्ब ४१ करोड रुपैयाँ असुल गरेपछि नाफा वृद्धिमा थप योगदान पुगेको वित्तीय विवरणमा उल्लेख छ। गत आवमा बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढ्दा प्रति शेयर आम्दानी ८ रुपैयाँ ७ पैसा रहेको छ । बैंकको कुल सञ्चालन आम्दानी १०.९७ प्रतिशत, सञ्चालन नाफा ५२९.८७ प्रतिशत र खुद शुल्क तथा कमिसन आम्दानी २७.४४ प्रतिशत बढेको छ ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड ४० लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो आवमा पनि बैंकको यस्तो नाफा ५ अर्ब ३६ करोड ७४ लाख रुपैयाँ ऋणात्मक थियो । बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ छ ।

गत आवमा बैंकले ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख निक्षेप संकलन गर्दा कर्जा लगानी २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख रुपैयाँ गरेको छ । बैंकको खराब कर्जा अनुपात ६.४२ प्रतिशत छ ।