काठमाडौँ,१५ साउन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि मतदान गर्ने फैसला गरेको छ ।
मतपत्र च्यातिएपछि उत्पन्न विवादका सम्बन्धमा सर्वोच्चमा जारी मुद्दामा आइतबार सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले फेरि मतदान गर्नुपर्ने फैसला सुनाएका हुन् ।
भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेको हो ।
गत बिहीबार नै बहस सकिने र आदेश आउने आकलन गरिए पनि प्रतिवादी रेणु दाहालका तर्फबाट कानुन व्यवसायीले बहस गरेपछि सुनुवाई १५ साउनसम्मका लागि स्थगित गरिएको थियो।
जेठ २१ गते सर्वोच्चमा दायर भएको रिटमा अन्तरिम आदेश जारी हुने वा नहुने विवाद करिव दुई महिनासम्म हुन सकेको छैन। अन्तरकालीन आदेशबाट पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय भने रोकिएको छ।
साउन २ गतेदेखि मुद्दाको मिसिल खोलिए पनि यसअघिको अन्तरकालीन आदेशले निरन्तरता पाउने वा नपाउने निश्कर्षमा पुगेको थिएन। न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा मुद्धा हेर्दाहेर्दैमा सुनुवाइ भइरहेको थियो।