मङ्गलबार, बैशाख २९, २०८३

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी चयन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले लालवीर चौधरीलाई पार्टी अध्यक्ष बनाएको छ । बिहीबार बसेको पार्टीका संरक्षक रेशम चौधरी पक्षका नेताहरुको भेलाले लालवीरलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

लालबीर रेशमका पिता हुन् । बुधबार रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाइएको थियो । पोखराको लिचीबारी घुस प्रकरणमा मुछिएपछि रञ्जिताले कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएकी थिइन् । तर रेशम पक्षले त्यसलाई विधि विपरीत भएको बताएको थियो ।

अध्यक्ष चयनपछि रेशम चौधरीले पार्टी कमिटीको सुझावका आधारमा पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गरेको बताए । उनले भने, ‘विधिसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्नुपर्छ भनेर केन्द्रीय सदस्यहरुले भनेपछि हामीले पत्रचार गरेका थियौं । २४ घण्टाको समय दिएका थियौं । उहाँले हामीलाई कुनै पनि जानकारी नगराईकन समय कटाउनु भयो । अनि बहुमतले पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गर्यौं ।’