आइतबार, फागुन १३, २०८०

माओवादीसँग पार्टी एकताको कुनै सम्भावना छैन : भट्टराई

काठमाडौं,१४ साउन । माओवादीबाट अलग भएको नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी एकताबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुनै सम्वाद नभएको बताएका छन् । माओवादीसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको समेत उनले बताए ।

पार्टीको संघीय परिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग डा. भट्टराईले भने, ‘प्रचण्डले के भन्नुभयो मलाई थाहा छैन । उहाँले सपना देखेको पनि हुनसक्छ । तर, पार्टी एकताबारे मेरो कुनै कुरा भएको छैन ।

पूर्व माओवादी नेता समेत रहेका उनले अघि भने, ‘तत्काल पार्टी एकताको सम्भावना पनि छैन ।’

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय सचिवालयको बिस्तारीत बैठकले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकतामा आउन आह्वान गर्ने निर्णय गरेको थियो ।