काठमाडौं । रौतहटमा बम बिस्फोटमा परी घाइते भएका भारतीय नागरिक गौरीशंकर राम चमारले आफू घटनाको पीडित नै भएको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले इटाभट्टामा काम गर्ने गरेको र त्यस दिन पैसा लिन आलमको घरमा गएका बेला विष्फोटमा परी घाइते भएको बताएका हुन् ।
उनले आफू आलमको घरमा जाँदा त्यहाँ बम बनाउने काम भइरहेको र त्यसक्रममा बम पड्किएको बताए । उनले बमले आफ्ना दुवै कान उडाइदिएको तथा अनुहार, घाँटी र छातीमा ठूलो चोट लागेको बताए ।
उनले भने, ‘इँटाभट्टामा काम गर्दैथिएँ । हप्ताको दिन थियो । पैसा लिन मलाई बोलाएर लिएर गयो । हामी तीन जना थियौं । मलाई भन्यो– भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाउ । घरको ढोकाको छेउमा पुगेको मात्र थिएँ बम पड्कियो । आगो लागेपछि म भागेँ । घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ । फेरि म भागेँ । त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो ? एकैचोटी मेरो आँखा खुल्यो सीतामढीमा । आँखा खुलेपछि मैले आमालाई सोधे– कहाँ हो यो ? आमाले भन्नुभयो– यो सितामढी हो, म तिमीलाई अस्पताल लिएर गइराखेको छु । केही चिन्ता नगर, ठीक हुन्छ तिमीलाई ।’
उक्त इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोप आलममाथि छ । उक्त घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगन्ज इजलासले सफाइ दिएको छ । तर, घटनामा परी बालबाल बाँचेका गौरीशंकर भने बम पड्किएको बताए ।
उनले घटनापछि आफ्नो उपचारमा आलमले केही नदिएको बताए । उपचारमा आफ्नो तीन लाख भारु खर्च भएको बताए । उनले भने, ‘अफताबले एकचोटी पनि सोधेन– मान्छे कस्तो छ, के छ ? एक रुपैया पनि दिएन । सोधेको पनि छैन । आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्यो ।’
उनले अदालतको फैसलाले आफूलाई अन्याय भएको बताए । उनले भने, ‘मलाई त्यसैमा बम लागेको छ । अरु मान्छे चाहिँ कति मरे मलाई थाहा भएन । इलेक्सनको एक दिन पहिला भएको छ, आलमले नै बम विष्फोट गराएको त मैले भन्न सक्दिनँ । तर, उसैको घरमा भएको हो ।’ उनले आलम छुटेकोमा आफूलाई दुःख लागेको बताए ।
उनले भने, ‘त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अब मलाई डर भयो । मेरो शारीरिक अवस्था नाजुक छ । काम पनि भेटिँदैन, काम गर्न पनि सक्दिनँ । म मर्ने कि बाँच्ने, मैले केही पनि देखिनँ ।’