काठमाडौं,१२ साउन । युवाको नेतृत्व क्षमता र विकासका लागि राष्ट्रिय युवा परिषद्ले नेपालमा पहिलोपटक ‘युथ पार्लियामेन्ट’ स्थापना गर्ने तयारी गरेको छ ।
पहिलो पटक स्थापना हुन लागेको ‘युथ पार्लियामेन्ट’ का लागि १० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरिसकिएको छ ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले स्थानीय तहसँग समन्वय गरी ‘युथ पार्लियामेन्ट’ को स्थापना र परिचालन गरिने बताए । त्यसका लागि बजेट विनियोजन भइसकेको र अब कार्यविधिका लागि गृहकार्य भइरहेको उनको भनाइ छ । सात सय ४४ स्थानीय तहमै ‘युथ पार्लियामेन्ट’ स्थापना गर्ने लक्ष्य भएपनि सुरुमा बढी चासो लिने स्थानीय तहमा यो कार्यक्रम कार्यान्वयन हुने उनले बताए ।
‘युथ पार्लियामेन्ट’ मा वास्तविक पार्लियामेन्टमा जस्तै नमुना पद र काम हुने जानकारी दिँदै कार्यकारी उपाध्यक्ष ढुंगेलले भने– ‘युथ पार्लियामेन्टमा नमुना सभामुख, सांसद, मन्त्री हुनेछन् र उनीहरूले प्रधानमन्त्रीसमेत चुन्नेछन् । वर्षको एकपटक पार्लियामेन्ट चल्ने र त्यसले दुई–तीन दिन काम गर्नेछ ।’ यस्तो गतिविधिले हजारौँ, लाखौँ रुपैयाँ खर्चिएर पनि गर्न नसकिने युवा नेतृत्वको विकास हुने परिषद्को अपेक्षा छ । ‘युथ पार्लियामेन्ट’ मा १६ देखि ४० वर्षसम्मका युवा सहभागी हुनेछन् ।
युथ पार्लियामेन्ट’ स्थापनापछि पार्लियामेन्टमा युवाको सिर्जनात्मक क्षमताको विकाससमेत हुने अपेक्षा गरिएको छ । सांसद, मन्त्री तथा प्रधानमन्त्री हुँदा कस्तो काम गर्ने भन्ने विचार बनाउनाले सिर्जनात्मकता बढ्नुका साथै यसले समग्रमा युवा नेतृत्वको विकास हुने , मञ्चमा बोल्न सक्ने क्षमतादेखि उनीहरूले आफ्नो विषयवस्तुमा धेरै ज्ञान बटुल्न सक्ने परिषद्को भनाई छ ।