सोमबार, असोज २१, २०८१

प्रवासी नेपालीलाई एकताबद्ध बनाउन मेरो उम्मेद्वारी : श्रेष्ठ


टोकियो,११ साउन । नेपाली ग़ैर आवासीयहरूको साझा संस्था गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशनको मिति नजिक्किएसँगै नेतृत्वका आकांक्षीहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

एनआरएनए जापानको आगामी कार्यकालका लागि एनआरएनए अभियान तथा समाजसेवी सविता श्रेष्ठले महिला उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।  वर्तमान कार्यसमितिकी सदस्य समेत रहेकी श्रेष्ठ एनआरएनए जापानको सक्रिय अभियन्ता मध्ये एक हुन् । सन् २००५ मा जापान आएकी श्रेष्ठको टोकियोमा रेष्टुरेण्ट व्यवसाय छ । सन् २०१५-१७ मा एनआरएनए जापानको कार्यसमिति निर्वाचनमा श्रेष्ठले सर्वाधिक मत पाएकी थिइन् ।

उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले एनआरएन जापानलाई गतिशील, चलायमान संगठन निर्माणका लागि आफूले उम्मेदवारी घोषणा गर्नु परेको बताइन् ।

प्रवासी नेपालीलाई एकताबद्ध बनाउन एनआरएनए जापानको महिला उपाध्यक्षमा आफू अघि बढ्नु परेको श्रेष्ठले बताइन् ।

एनआरएनए जापानका हरेक अभियानहरुमा सक्रिय रहदै आएकी श्रेष्ठ एनआरएनए जापानले आयोजना गर्न लागेको हरितालिका तीजको संयोजक समेत रहेकी छिन् । उनले कार्यक्रमबाट उठ्ने रकम आपतकालीन कोषमा जम्मा गरिने बताएकी छिन् ।

महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी श्रेष्ठले आफ्ना केही योजना र प्रतिवद्वता समेत सार्वजनिक गरेकी छिन् । श्रेष्ठले आफू एनआरएनए अभियानमा सक्रियताका साथ होम्मिएको बताउँदै एनआरएन जापानमा रहेर अझै केही काम गर्नका लागि उम्मेदवारी दिएको बताएकी छिन् ।

उनले जापानमा रहेर आपत् विपद्मा परेका हरेक नेपालीलाई उद्दार, पुनर्स्थापना र रोजगारीका लागि पहल गर्ने पनि प्रतिवद्धता जनाउदै श्रेष्ठले भनीन एनआरएनए जापान मार्फत् नेपालका दुर दराजसम्म समाज सेवा गर्ने विभिन्न खाले अभियानहरु ल्याउने, एनआरएनए जापानको आपतकालिन राहत कोषलाई बलियो बनाउने, एनआरएनए जापानका सदस्यहरुको सदस्यता पारदर्शी रुपले वितरण गर्ने, संगठन विस्तार र सदस्यहरुलाई दिइने न्युनतम सेवा सुविधालाई पारदर्शी बनाउन आफू लागि पर्ने उल्लेख गरेकी छिन् ।