काठमाडौं । शिक्षक आन्दोलनका कारण प्रभावित भएको विद्यार्थीको पढाइ बिदामा परिपूरण गरिने भएको छ । नेपाल शिक्षक महासंघले आफ्नो अनुकूलता अनुसार हिउँदे वा वर्षे बिदामा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ ।
‘आन्दोलनका क्रममा आयोजना भएको आम शैक्षिक हडतालका कारण विद्यालयको भर्ना र पठनपाठन अबरुद्ध हुन गएको छ । विद्यार्थी वर्गमा पर्न गएको शिक्षण सिकाइको क्षतिलाई ध्यानमा राखी आफ्नो अनुकूलता अनुसार हिउँदे वा वर्षे विदामा पठनपाठन सञ्चालन गर्न भनेका छौं,’ महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने । ४५ दिन बिदा हुने भएकाले कति क्षति भएको छ सोही अनुसार कक्षा सञ्चालन गर्न महासंघले भनेको छ ।
‘कुनै ठाउँमा हिउँदे बिदा हुन्छ । कुनै ठाउँमा वर्षे बिदा हुन्छ । दैसैं र तिहारमा पनि बिदा हुन्छ । अनुकूलता हेरेर कक्षा सञ्चालन गर्न निर्देशन दिएका हौं,’ अध्यक्ष सुवेदीले भने ।
शिक्षक महासंघले गत २० चैतदेखि २९ दिन काठमाडौंमा सडक आन्दोलन गरेको थियो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले शैक्षिक हड्ताल गर्दा पठनपाठन प्रभावित भएको थियो । सरकार र महासंघबीच १७ वैशाखमा ९ बुँदे सहमति भएपछि आन्दोलन रोकिएको हो ।
१ वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु भए पनि शिक्षकको हड्तालको कारण भर्ना अभियानसमेत प्रभावित भएको थियो ।