काठमाडौं । सरकार र शिक्षक महासंघको वार्ता सहमति नजिक पुगेको छ । सहमतिलाई अन्तिम रुप दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र महासंघबीच वार्ता भइरहेको छ ।
सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका छन् । महासंघको तर्फबाट अध्यक्ष लक्ष्मिकिशोर सुवेदी सहितको टोली छ । शिक्षकको सेवा सुविधाको विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न महासंघ तयार छ ।
सरकार र महासंघले बीचको बाटो अपनाएर सहमतिको प्रयास गरिरहेको वार्तामा सहभागी एक सदस्यले बताए । `वार्तामा छौँ । सहमतिको नजिक पुगेका छौँ,´ ती सदस्यले भने ।
शिक्षामन्त्री रघुजी पन्त पनि वार्ताको माध्यमबाट समाधान खोज्न लागिपरेका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले पनि शिक्षकसँग वार्ता गर्न मन्त्री पन्तलाई नै जिम्मेवारी दिइएको छ ।
मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पनि पर्सिसम्म सहमति हुने बताएका छन् ।
सरकारसँग वार्तामा बस्नुअघि महासंघको पनि बैठक बसेको थियो । सरकरले गर्ने निर्णय गरेमा र ऐन जारी गर्ने सुनिश्चितता गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न महासंघ तयार भएको छ ।
आजको वार्तामा सरकार र महासंघ दुवै लचक भएर प्रस्तुत भएका छन् ।