काठमाडौं,९ साउन । नेकपा एमालेले प्रदेश २ को निर्वाचनमा पनि पहिलो दलको रुपमा स्थापित हुने योजनाका साथ अभियान सुरु गरेको छ । आगामी असोज २ गते हुन लागेको प्रदेश २ को आठ ओटै जिल्लाका स्थानीय तहमा बहुमतसहित जीत हासिल गर्न एमालेले तराई मधेश केन्द्रित अभियान थालेको हो ।
पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो बनेको एमालेले भदौंबाट प्रदेश २ मै केन्द्रीय कार्यालय सरहको कार्यालय राख्ने भएको छ । महासचिव इश्वर पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले भदौंबाट प्रदेश २ को जनकपुर, सिरहा र र बीरगञ्जमा केन्द्रीय कार्यालय सरहकै कार्यालय स्थापना गर्ने र कार्यालयमा बरिष्ठ नेताहरु नै रहने निर्णय गरेको छ ।
‘भदौंबाट साविकको नारायणी, जनकपुर र सगरमाथालाई केन्द्र बनाएर पार्टीका शीर्ष नेताहरुले तिनै कार्यालयबाट प्रदेश २ को चुनावलाई हाँक्नुहुनेछ,” एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले भन्नुभयो । चुनावको अवधीमा एमालेले तराई मधेशमा बिकास हुन नदिने नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेस केन्द्रित दलको षडयन्त्रसमेत भण्डाफोर गर्दै जनतालाई सचेत पार्ने योजना बनाएको छ ।
एमालेले पहिलो र दोस्रो चरणको चुनावमा देखिएको केही असन्तुष्टिसमेत लाई ध्यान दिई उम्मेदवार चयन अघि स्थलगत अनुगमनसमेत गर्ने भएको छ । सो कामका लागि महासचिव इश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घणश्याम भुसाल सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, पृथ्वी सुब्वा गुरुङ, योगेश भट्टराई, भीम आचार्यलाई जिल्ला तोकेरै जिम्मेवारी दिइएको छ ।
स्रोतका अनुसार महासचिव पोखरेल पर्सा, उपमहासचिव पौडेल बारा, भुसाल रौतहट खटाइएको छ । यसैगरी सचिवहरु पनि जिल्लाको स्थलगत अध्ययनका लागि खटाइएको एमालेले जनाएको छ । स्रोतका सचिव बिष्ट सर्लाही, भट्टराई धनुषा, आचार्य सप्तरी खटाइएको छ । अन्य जिल्लामा ज्ञवाली र गुरुङले जिम्मेवारी सम्हाल्ने एमालेले जनाएको छ ।