पोखरा । वरिष्ठ लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेको प्रस्तुतीमा पोखरेली दर्शक झुम्न पाउने भएका छन् ।
एकल साँगीतिक साँझ २०८१ कार्यक्रम मार्फत पोखरा घन्काउँदै गायक न्यौपानेले दर्शकलाई झुमाउने भएका हुन् । यहीं चैत्र २२ गते दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा सुरु हुनेछ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा यो कार्यक्रम हुन लागेको हो । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापा मगरले जानकारी दिएकी छन् ।
प्रवेश नि:शुल्क रहने कार्यक्रममा पुगेर गायक न्यौपानेका चर्चित गीत सुन्दै नाच्न अनि झुम्न पाइनेछ । २०२९ साल भदौ २५ गते स्याङ्जा जिल्लाको तत्कालीन श्रीकृष्ण गण्डकी गा.वि.स.वडानं.३ बलाम बेलटारीमा न्यौपानेको जन्म भएको हो । उनको बाल्यकाल गाउँमानै बितेको थियो ।
एस.एल.सि उत्रिर्ण भएपश्चात बिरानो ठाउँ काठमाडौँ हानिए । अध्ययनको सिलसिलामा आर.आर क्याम्पसमा भर्ना भए । गीत सङ्गीत क्षेत्रको रुचि कायमै थियो । काठमाडौँ बसाइँका क्रममा २०४६ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएका उनी स्वर परीक्षामा उत्रिर्ण हुन सफल भए । त्यही वर्ष ‘बलाम देवी थान’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा औपचारिक रुपमा आगमन गरे । यो गीत रेडियो नेपालमा बज्ने गर्दथ्यो । एल्बम भने त्यो समयमा बजार ल्याएनन् ।
उनले आवाज भरेको पहिलो एल्बम ‘श्रीखण्ड चन्दन’ हो । यो एल्बम २०४९ सालमा बजारमा आएको थियो । आफ्नै एल्बमको रुपमा श्रोतामाझ पस्केको पहिलो एल्बम भने ‘फुलको वासना’ थियो । जुन एल्बम २०५३ सालमा म्युजिक नेपालले बजारमा ल्याएको थियो । यो एल्बममा पहिला आफूले रेर्कड गरिसकेका गीतलाई समेत समावेश गरेका थिए ।
त्यतिबेला म्युजिक नेपालले यो नयाँ केटाको गीत चल्ने हो की हैन भनेर आशका गरेको न्यौपानेले अझैसम्म भुलेका छैनन् । उनलाई कहिले एल्बम बजारमा आउँछ, सुन्न पाइन्छ अनि साथीहरूलाई भन्न पाइन्छ भन्ने खुल्दुली थियो । गीत रेकर्ड गरेर पोखरा आएपछि पनि बारम्बार फोन गरेर सोध्ने गर्थे । तर, म्युजिक नेपालले विभिन्न बहाना बनाई ढिलाइ गरेको थियो । पहिलो एल्बमबाटनै सफलता मिल्दा न्यौपानेको साँगीतिक यात्रा सहज ढंगले अगाडि बढ्यो । जुन अहिलेसम्म अनवरत रुपमा जारी नै छ ।
२०५४ मा ‘ऐना हेरेर’ र २०५५ मा ‘निलो पछ्रयौरी’ एल्बम म्युजिक नेपालबाट निकाली लगातार तीनवर्ष म्युजिक नेपाल अर्वाड समेत उनले प्राप्त गर्न सफल भए । त्यसपछि झिलझिल सितारा, रुन्छ नि मन किन रुदैन, डाँडैमा पिपल सारेर, बिरानो मुलुक, लाली फुल, मिर्मि मुनी काली थुनेको, पूर्वैमा झ्याल राखे, पानी घट्टमा, कुर्ता सुरुवाल लाउदा त यस्ती छौ, मुग्लीन झरौ, घाम जस्तो चम्कीलो जुन हुँदैन, चिन्ता बढ्यो झन्, घासै राम्रो सिरु, तिजको गन्थन भाग १ देखि भाग ७, विभिन्न भजन सग्रह, लगायत तीन दर्जनभन्दा बढी एल्बम निकालेका उनले झण्डै पाँच सय गीतमा आफ्नो सुमुधुर आवाज भरीसकेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपाने हाल कार्यक्रम अधिकृतको रुपमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यरत छन् ।
हरेक वर्ष एकजना अग्रज स्रष्टाको सांगीतिक साँझ आयोजना गर्ने प्रतिष्ठानले योजना बनाएको छ ।