मकवानपुर । बागमती प्रदेश सरकारले आन्तरिक आय बढाउने र राजस्व सङ्कलनको क्षेत्र निर्धारणका लागि कार्यदल निर्माण गरी अध्ययन थाल्ने भएको छ ।
प्रदेश सरकारलाई स्रोतहरूको अनुकूल प्रयोग, कर नीति सुधार र आर्थिक प्रणालीलाई मजबुत बनाउन मद्दत पुग्ने गरी कार्यदलले अध्ययन प्रतिवेदन तयार गर्ने उनले बताए । सो कार्यदलले अध्ययनमा सम्भावित कर संरचना सुधार, व्यापारिक गतिविधिहरूको प्रोत्साहन र आर्थिक स्रोतहरूको उत्तम व्यवस्थापनका उपाय समेटिने उनको भनाइ छ ।
प्रदेशको आन्तरिक राजस्व बढाउन, असंगठित क्षेत्रलाई औपचारिक बनाउने र दीर्घकालीन आर्थिक स्थिरता कायम राख्नका लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने सचिव मैनालीले बताए । प्रदेशका आर्थिक र राजस्वका स्रोतहरूको गहिरो मूल्यांकन, राज्यका उत्पादन र सेवाहरूको वृद्धिमा जोड दिने उपाय अन्वेषण गर्ने गरी कार्यदलले काम थाल्ने उनको भनाइ छ ।
संघीय सरकारले निर्धारित गर्ने कर नीति र आर्थिक निर्णयहरूबाट प्रभावित प्रदेशको आर्थिक योजना, प्राविधिक कार्यहरू व्यवस्थित गर्न कार्यदलको प्रतिवेदन महत्त्वपूर्ण हुने सचिव मैनालीले प्रस्ट पारे । कार्यदलले प्रदेशको राजस्व सुधारको योजनासहित खर्च व्यवस्थापनको विषयमा समेत अध्ययन गर्ने उनले बताए ।
प्रदेशको आयस्रोत धेरै नहुँदा बजेटका लागि संघीय सरकारमै निर्भर हुनु परेकाले बजेटमाथिको अस्वाभाविक भार कम गर्न संरचनागत सुधारका लागि सुझाव पेस गर्नेगरी कार्यदलले काम गर्ने सचिव मैनालीले बताए ।
‘कार्यदलले सरकारको खर्च व्यवस्थापन, संरचनागत सुधार, नीति तथा कानुनलाई अनुकूल बनाउने बारेमा अध्ययन गर्नेछ ।’ उनले भने, ‘चालु र प्रशासनिक खर्च बढिरहेको छ । संघमा आश्रित बजेट भएकाले त्यसको सदुपयोग गर्ने विषय महत्त्वपूर्ण रहन्छ ।’
आन्तरिक आयस्रोत व्यवस्थापन, छुट तथा सुविधाका विषय निर्धारण, छुटेका र महत्त्वपूर्ण विषय समेट्ने विषयमा कार्यदलले अध्ययन गर्ने जनाइएको छ । प्रदेशको आर्थिक विकासको सम्भावनाको खोजी तथा उपयुक्त बजेट कार्यक्रम तर्जुमा र टुक्रे योजनाको व्यवस्थापन बारेमा कार्यदलले सुझाव दिने सचिव मैनालीले बताए ।