शुक्रबार, भदौ १९, २०८३

सिलिण्डर बोकेर हिँडेको भन्दै आलोचना भएपछि गृहमन्त्री जवाफ : ‘म कहाँ बसेको छु होइन, परिणाम हेर्नुस्’

काठमाडौँ । त्रिशूली थ्री ए जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरेका व्यक्तिसँगै सिलिण्डर बोकेर हिँडेको विषयमा आलोचना भएपछि गृहममन्त्री सुदन गुरुङले जवाफ दिएका छन् ।

सामाजिक संजालमा उनको व्यापक आलोचना भएपछि उनले पनि सामाजिक संजालमार्फत त्यसको जवाफ दिएका हुन् । उनले विपद् प्रतिकार्यमा मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने पुरानो शैलीको नेतृत्व अब सान्दर्भिक नभएको बताएका छन् ।

उनले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको भन्दै आफू कहाँ बसेर काम गरिरहेको भन्ने विषयमा चिन्ता नगर्न आग्रह गरेका छन् ।

गृहमन्त्रीले भनेका छन्, ‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ । यो Generation Gap हो।’

उनका अनुसार अनलाइन माध्यमबाट प्रत्येक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठकहरू भइरहेका छन् । उनले डिजिटल माध्यमबाट भइरहेको समन्वय र निर्णय प्रक्रिया टेबल पछाडि बसेर गरिने परम्परागत शैलीभन्दा छिटो र प्रभावकारी रहेको दाबी गरेका छन् ।

‘वर्षौँदेखि हामीले फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएका छौँ,’ उनले भनेका छन्, ‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ।’

गृहमन्त्रीले विपद् व्यवस्थापनमा नेतृत्वको भौतिक उपस्थितिभन्दा प्रभावकारी कमान्ड, समन्वय, सूचना प्रवाह र तत्काल निर्णय महत्वपूर्ण हुने उल्लेख गर्दै आफू कहाँ बसेको छु भन्नेभन्दा परिणाममा ध्यान दिन आग्रह गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया