बिहिबार, असोज २४, २०८१

निर्वाचन अघि संविधान संसोधनको कुरा गर्न सकिदैन : नेपाल

काठमाडौं,८ साउन । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले ३ वटै स्थानीय तहको निर्वाचन अघि संविधान संसोधनको कुरा गर्न नसकिने बताउनु भएको छ । उहाँले वर्तमान समय स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने समय भएकाले संविधान संसोधनको काम गर्न नसकिने वताउनु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवसका अवसरमा रामेछापमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन रामेछाप पुग्नुभएका नेपालले यस्तो बताउनु भएको हो । ‘राम्रा कुनै पनि कुराका लागि हामी सँधै तयार छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि तयार भए पनि समय आउनु पर्यो । स्थानीय, प्रदेश र संघीय निर्वाचन सम्पन्न गरौँ । त्यसपछि के गर्नुपर्ने हो हामी छलफल गर्न तयार छौँ नेता नेपाले बताउनु भयो।’

पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले संविधान संसोधन जनताको माग नभइ मधेसका केही राजनितिक दलको मात्रै भएको प्रष्ट पार्नुभयो । संविधान संसोधन हुने दस्ताबेज भएपनि त्यसको पनि उपयुक्त समय आउने उहाँको भनाई थियो । दशैमा दशैकै तिहारमा तिहारकै र होलीमा होलीकै कुरा गर्नपर्ने भन्दै नेपालले अहिले चुनावको बेला भएकाले चुनावकै कुरा गर्नुपर्ने बताउनु भयो । नेता नेपालले अबको प्रदेश र संघको निर्वाचनमा एमालेले बहुमतसहित पहिलो शक्ति बनेर स्थायी सरकार चलाउने घोषणा पनि गर्नुभयो ।

‘अबको प्रदेश र संघको निर्वाचनमा एमालेले बहुमतसहित पहिलो शक्ति बनेर स्थायी सरकार चलाउँछ, त्यसपछि संमृद्धिको सपनाले साकार रुप पाउँछ,’ नेपालले भन्नुभयो ।