रुपन्देही । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको अन्तरविरोधलाई दुर्भाग्यपूर्ण बताउँदै एकताका लागि जोड दिनुपर्ने बताएका छन्। आइतबार बुटवलमा कांग्रेस सूचना तथा सञ्चार विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी आफैंभित्र लड्दै छौं, यो बन्द गर्न जरुरी छ। कांग्रेस बलियो हुन एकढिक्का भएर अघि बढ्नुपर्छ।’
उनले कांग्रेसले जनताको साथ लिएर चुनाव लड्ने परम्परा रहेको बताउँदै एमाले, माओवादी, जसपासँग लड्नुपर्ने बेला आपसी कलह उचित नभएको उल्लेख गरे। महाधिवेशनपछि तिक्तता बिर्सेर पार्टीलाई सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिए।
‘नेपाली युवाले विदेशमा विकास गर्न सक्छन् भने आफ्नै देश बनाउन किन सक्दैनन्’ भन्दै कोइरालाले युवालाई सोच परिवर्तन गर्न आह्वान गरे। उनले कांग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र सामाजिक सुरक्षाका सवालमा आफ्नो प्रतिबद्धता कायमै राखेको बताए।
कार्यक्रममा नेता बालकृष्ण खाणले कांग्रेसले सबैलाई समेटेर अघि बढ्ने बताउँदै, ‘कांग्रेसको विकल्प कांग्रेस नै हो’ भने। कार्यक्रममा सहमहामन्त्री जीवन परियार, डा।मिनेन्द्र रिजाल, मिनबहादुर विश्वकर्मा, नैनसिंह महर, राजु खनाल, भुवन श्रेष्ठ, खेलराज पाण्डेय, सहजकर्ताद्वय जगत नेपाल, हरिबहादर थापा, कमला अधिकारी लगायत नेताहरूले पनि आफ्नो धारणा व्यक्त गरे ।