शुक्रबार, जेठ ०३, २०८२

रास्वपाका सभापति लामिछानेले अदालतमा १ करोड धरौटी बुझाएर रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बुझाएर रिहा भएका छन् । बैंक ज्ञारेन्टीमार्फत उनले अदालतमा धरौटी बुझाएका हुन् ।

बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो ।

सोही अनुसार उनी आइतबार नै बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर रिहा भएका हुन् ।

गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आज न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश गरेको हो ।

थुनछेक बहसमा सरकारी वकिलहरुले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए ।

लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो ।