बुधबार, माघ ३०, २०८१

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन टोकियोमा हुने

टोकियो । मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन फेब्रुअरी १५ र १६ तारीख जापानको राजधानी टोकियोमा पनि हुने भएको छ ।
टोकियोमा आईतबार पत्रकार सम्मेलन गरेर १/१ करोड़ पुरस्कार राशीको दुई रियालिटी शो मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन जापानको राजधानी टोकियोमा हुने जानकारी दिएको हो ।

इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरू पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स को सिजन २ घोषणा गरे संगै जापान अडिसनको तयारी थालेको हो ।

नेपालभित्र र संसारको जुनसुकै ठाउँमा बसेकानेपाली कला र संस्कृतिप्रति आस्था राख्ने तथा यस क्षेत्रबाट आफ्नो समुदायलाई विश्वस्तरमा परिचय गराउन इच्छुक नेपालीभाषीहरूका लागि यी दुई रियालिटी शोहरू आयोजना गरिएका जानकारी दिएको छ ।

सन् २०२३ मा यी दुबै रियालिटी शोहरूको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको थियो। संसारभरका नेपालीहरूको उत्साहजनक सहभागिताले पहिलो सिजनलाई निकै सफल बनाएको थियो ।

मेरो भ्वाइस युनिभर्स सिजन २ का लागि गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरू शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुंग निर्णायकको भूमिकामा हुनुहुन्छ।

मेरो डान्स युनिभर्स सिजन २ का लागि मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, चर्चित अभिनेत्री शिल्पा मास्के, शंकर विसी, कविराज गहतराज र किरण थापा निर्णायकको भूमिकामा हुनुहुन्छ।

दुबै शोहरूका लागि चर्चित कार्यक्रम प्रस्तोता अनुबन्धित भइसकेका छन्। जसमा रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखरेल र नम्रता श्रेष्ठ हुनुहुन्छ।
यस रियालिटी शोको मुख्य उद्देश्य नेपाली जातिका बीच सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने, नेपाली कला र संस्कृतिलाई विश्वभर चिनाउने, र नेपालीभाषी प्रतिभाहरूलाई आफ्नै संस्कृति र पहिचानमा गर्व गर्न प्रेरित गर्ने हो।

दोस्रो सिजनका लागि अडिसनहरू युरोपको बेलायत र पोर्चुगल, पूर्वी एशियाको थाइल्याण्ड, हङकङ र जापान, मध्यपूर्वको दुबई र कतार, अष्ट्रेलियाको सिड्नी, भारतको सिलिगुडी र मुम्बई, र नेपालको बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा आयोजना गरिनेछन्।

जापानमा बसोवास गर्ने नेपाली प्रतिभाहरूका लागि फेब्रुअरी १५ र १६, २०२५ मा टोकियोमा अडिसन हुने छ। अडिसन स्थान सोलमारी मुरा हल, टोकियो मा तय गरिएको छ।

रियालिटी शो को अडिसनमा सहभागी हुन १८ वर्ष उमेर पुगेको हुनु पर्ने र सहभागीता पूर्णतः निःशुल्क हुनेछ।

अडिसनका लागि राष्ट्रियस्तरका कलाकारहरू जजका रूपमा जापान आउने तयारीमा गरेका छन । रजिस्ट्रेशनका लागि अनुरोध गरेको गायक तथा जापान संयोजक सूर्य खड़काले अनुरोध गरेका छन ।

सहभागी हुनको लागि यो लिंकबाट फर्म भर्न सक्नुहुने छ । https://intrafoundations.org/signup