काठमाडौं । म्हेन्दोमाया कलाकार संघ नेपालले तामाङ जातिको महान साँस्कृतिक पर्व २८६१ औं सोनाम ल्होछारको अवसरमा गोलढुङ्गामा “ब्रुल(ल्हो विशेष सांस्कृतिक कार्यक्रम(२०८१“आयोजना गर्ने भएको छ ।
कार्यक्रम नुवाकोट धादिङ रसुवा समाज कुवेतको सह आयोजनामा आगामी माघ १२ गते शनिबारका दिन गोलढुङ्गा फुटबल ग्राउण्डमा गर्न लागिएको आयोजकले जनाएको छ।
“भाषा, कला, संस्कृति, भेषभुषा, परम्परा र रितिरिवाजको संरक्षण गरौं, २८६१ औं सोनाम ल्होछारलाई भव्यताका साथ सफल पारौ” भन्ने मुल नाराका साथ आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा तामाङ जातिको मौलिक संस्कृति झल्काउने विभिन्न प्रस्तुतिहरू हुनेछन् । यसमा तामाङ भेषभूषा, मौलिक गीत(संगीत, नृत्य र परम्परागत रीतिहरूलाई उजागर गर्ने गतिविधिहरू रहनेछन्। साथै, शुभकामना आदान प्रदान र सांस्कृतिक समूहहरूको विशेष प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण हुनेछन्।
सम्पूर्ण काठमाडौं उपत्यकावासी तथा गोल्ढुङ्गा आसपासका तामाङ समुदायलाई यस कार्यक्रममा सहभागी भई तामाङ संस्कृति र परम्पराको संरक्षणमा योगदान गर्न आयोजकले आग्रह गरेको छ ।