शुक्रबार, चैत १६, २०८०

प्रदेश नम्बर २ बाट क्षतिपूर्ति उठाउने कांग्रेसको दावि

काठमाडौं,६ साउन । नेपाली कांग्रेसका शीर्ष नेताहरुले प्रदेश नम्बर २ मा पहिलो पार्टी हुने मात्र होइन, दुई चरणमा व्यहोरेको हारको क्षतिपूर्तिसमेत गर्ने योजना अघि सारेका छन् ।

प्रदेश नम्बर २ का जिल्ला सभापतिहरुले पनि टिकट वितरणमा नेतृत्वले सही निर्णय लिएमा यो लक्ष्य असम्भव नभएको बताएका छन् । साथै उनीहरुले ‘पास- फेल’ जे भए पनि संविधान संशोधन विधेयकलाई तत्काल संसदमा भोटिङ गराउनसमेत माग गरेका छन् ।

असोज २ को चुनावलाई लक्षित गरेर कांग्रेसले प्रदेश नम्बर २ को भेला राजधानीमा बोलाएको छ । विहीबार उदघाटन गरिएको भेलामा जिल्ला सभापतिहरुका साथै क्षेत्रीय सभापति, उम्मेदवारका आकांक्षीहरु, सांसद, केन्द्रीय सदस्य र पूर्व सांसदहरुलाई बोलाइएको छ ।

प्रादेशिक भेलाको सुभारुम्भ गर्दै कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिले प्रदेश नम्बर २ मा १०० सीट जित्ने लक्ष्य सुनाए । पहिलो र दोस्रो चरणको चुनावबाट एमाले पहिलो पार्टी भएको र कांग्रेसभन्दा ५० सीट बढी जितेको भन्दै उनले अब प्रदेश नम्बर २ ले सबैको क्षतिपूर्ति गर्दै कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने बताए ।

समयमै उम्मेदवार टुंगो लगाउने र असन्तुष्टि व्यवस्थापन गर्दै चुनाव प्रचारमा जानुपर्ने भन्दै निधिले भने, एकतावद्ध भएर लाग्यौं भने कांग्रेसलाई पहिलो पार्टी बनाउन सक्छौं ।’

अनौपचारिक रुपमा आफूले गरेको अध्ययनले सप्तरी र सिराहा बाहेकका ६ जिल्लाका ९६ स्थानीय तहमध्ये १९ मा मात्रै एमालेको प्र्रभाव रहेको पाइएको निधिले सुनाए ।  निधीले बोलेपछि ८ जिल्लाका सभापतिहरुले रिपोर्टिङ सुरु गरेका थिए, जसमा पत्रकारलाई प्रवेश दिइएको थिएन । मनोमानी र आफ्नालाई टिकट वितरण गरे कांग्रेस ठूलो पार्टी बन्न नसक्ने बताएका छन् ।