बुधबार, माघ ३०, २०८१

नेपाली चलचित्र ‘कार्साङ’ टोकियोमा जनवरी २७ तारिख प्रदर्शन हुने

टोकियो । नेपाली चलचित्र ‘कार्साङ’ जापानको राजधानी टोकियोमा जनवरी २७ तारिख प्रदर्शन हुने भएको छ । शुक्रवारबाट नेपालमा प्रदर्शनमा आएको चलचित्र ‘कार्साङ’ जापानको राजधानी टोकियोमा यहि जनवरी २७ तारिख प्रदर्शन हुने भएको छ ।

शेर्पा समुदायको मौलिक कथा र संस्कृतिलाई जीवन्त रूपमा पर्दामा उतारिएको बताइएको चलचित्र यसअघि टोकियोमा जनवरी २० तारिख प्रदर्शन गर्ने तयारी आयोजकले गरेको थियो । चलचित्र जनवरी २७ तारिख सोमबार साँझ ६ बजे प्रदर्शन हुनेको छु चलचित्र कार्साङ् को जापान प्रदर्शन अधिकार पाएको ओम शान्ति ओम कम्पनीका डाइरेक्टर ईश्वर श्रेष्ठले जानकारी दिएका छन् ।

चलचित्र जापानको तीन दर्जन भन्दा धेरै शहरमा प्रदर्शन हुने बताइएको छ । चलचित्रले शेर्पा समुदायको जीवनशैली, संस्कार र सङ्घर्षलाई यथार्थपरक ढङ्गले चित्रण गरेको छ । चलचित्रले अभाव र दुःखका बीच पनि आफ्नो संस्कारलाई जोगाउन सङ्घर्ष गर्ने पात्रको रुपमा चलचित्रमा कार्साङलाई उभ्याएको छ ।

कार्साङले अभावमा बाँचिरहेको एक व्यक्ति आफ्नो गाउँ, समाज र आफन्तबाट कसरी तिरस्कृत हुन्छ भन्ने यथार्थ चित्रण गरेको छ । चलचित्रले शेर्पा समुदायको संस्कृति अनुभूत गर्न चाहने दर्शकका लागि यो एउटा उत्कृष्ट अवसर भएको बताइएको छ ।

कार्साङ यम शेर्पाले निर्देशन गरेको एक पारिवारिक कथावस्तुमा आधारित चलचित्र हो । यसमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल लगायतका कलाकारहरूको अभिनय रहेको छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता तथा छायाकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् भने कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।