काभ्रे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। शनिबार धुलिखेलमा सम्पन्न छैठौं अधिवेशनबाट पुनः इन्द्रबहादुर थापा मगरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा भेषराज दनुवार,सचिवमा सनम सुवाल,सह-सचिव बिपश्न शाक्य, कोषाध्यक्षमा धन बहादुर लामा (डिबि) निर्वाचित भएका छन् । यसैगरी, समितिको सदस्यमा चन्द्र बहादुर लामा,अशोक बुद्ध लामा मिप्चन,चेत बहादुर माझी र सन्देश घले निर्वाचित भएका छ्न ।
अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष गजुरधन राईले आदिवासी जनजाति पत्रकारहरुको संख्या न्यून रहेकाले त्यसका लागि आवश्यक नीति तय गर्न र क्षमता अभिवृद्धिका कार्यक्रमहरु बनाउन आवश्यक रहेको बताए । अझै पनि भाषागत पत्रकारिताले समस्या भोग्नु परिरहेको कुरा उठाउँदै महासंघ तथा राज्यका निकायहरुले समेत यसलाई महत्व दिन नसकेको उनले बताए ।
आगामी दिनमा आदिवासी जनजातिको पहिचान अन्तर्गत भाषाको पहिचान प्रमुख हुने भएकाले भाषागत पत्रकारिताले लोपोन्मुख भाषाहरुको संरक्षणका लागि पनि काम गर्नसक्ने भएकाले आ-आफ्नो भाषाको संरक्षणका लागि काभ्रे फोनिज कर्मीहरुलाई अध्यक्ष राईले अनुरोध गरे । अधिवेशनको उद्घाटन सत्रमा रोशी गाउँपालिकाका अध्यक्ष एवं फोनिज काभ्रेका संस्थापक अध्यक्ष दिनेश लामा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने, पुर्व अध्यक्षहरु महेश पौडेल र मोतीराम तिमल्सिना, फोनिज बागमती प्रदेशका इन्चार्ज पेमा लामा, जिल्ला स्थित प्रेससँग सम्वन्धित संघ संस्थाका अध्यक्षहरुले अधिवेनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशनको उद्घघाटन सत्रमा पत्रकार मानकाजी सुवाललाई कृयाशिल फोनिजकर्मीको रुपमा नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित संघीय अध्यक्ष गजुरधन राईले सम्मान गरेका थिए ।
यसैगरी, फोनिज काभ्रेले आफ्ना सदस्यको क्षमता अभिवृद्धि लगायतका कार्यमा सहयोग गरेको भन्दै रोशी गाउँपालिकालाई पनि कदरपत्र प्रदान गरेको छ ।
सह -सचिव सनम सुवालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सुरज श्रेष्ठले गरेका थिए । यस्तै कार्यक्रममा फोनिज काभ्रेका सदस्यहरु, जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको समेत उपस्थिति रहेको थियो। महासंघले आगामी दिनमा आदिवासी जनजाति पत्रकारहरूको हकहित र पत्रकारिताको विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
फोनिजले प्रदेशहरुको अधिवेशन आगामी फागुनमा सम्पन्न गरी चैत्र १५–१७ गते केन्द्रीय महाधिवेशनको तयारी गरेको छ ।