शुक्रबार, बैशाख ०५, २०८२

सन्तुलन नभए समानान्तर कमिटी बनाउने नारायणकाजीको चेतावनी

काठमाडौं,५ साउन । माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफ्नो समूहका सांसद गीरिराजमणि पोखरेललाई मन्त्री नबनाए पार्टीभित्र समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् । कांग्रेस र माओवादीबीच मन्त्रालय भागबण्डाको चर्चा चलिरहेका बेला नारायणकाजी श्रेष्ठले प्रचण्डलाई भेटेर यस्तो चेतावनी दिएका हुन् ।

भेटमा प्रचण्डले यसपटक आफ्नो र अर्को नभनी सबै नेतालाई पार्टीको सोचेर मन्त्रीमण्डलमा नाम पठाउन श्रेष्ठसँग प्रस्ताव गरेका थिए । प्रचण्डले पटकपटक मन्त्री बनाएका र राम्रो काम गर्न नसकेका नेताहरुलाई मन्त्री बनाउँदा पार्टी र जनतामा राम्रो सन्देश नजाने श्रेष्ठलाई भनेका थिए । प्रचण्डले श्रेष्ठसँग यसपटक चुनाव जितेका तर मन्त्री नभएकाहरुलाई मन्त्रीमण्डलमा पठाएर उनीहरुलाई अवसर दिनुपर्ने धारणा राखेका थिए ।

तर श्रेष्ठले आफ्नो समूहका गीरिराजलाई मन्त्री नबनाए पार्टीभित्र समानान्तर कमिटी घोषणा गरेर चलाउने चेतावनी दिएका छन् । प्रचण्डले गीरिराजमणिको ठाउँमा सांसद तथा अधिवक्ता रामनारायण बिडारीलाई मन्त्री बनाउन चाहेका थिए । तर, श्रेष्ठले विगतदेखि नै स्वास्थ्य क्षेत्रमा राम्रो नेटवर्क भएकाले गीरिराज नै मन्त्री हुनुपर्ने दवाव दिँदै आएका छन् ।

पार्टी एकता भएदेखि नै हरेक ठाउँमा आफ्नो गुटको भाग खोज्ने श्रेष्ठले स्वास्थ्य मन्त्रालय हातमा लिएर औषधि व्यवसायीहरुबाट मोटो रकम असुल्ने तयारीमा छन् । अघिल्लोपटक स्वास्थ्य मन्त्री बन्दा गीरिराजले नेपाल औषधि लिमिटेडलाई बन्द गराई नीजि औषधि कम्पनिसँग मोटो रकम लिएका थिए । गगन थापा स्वास्थ्य मन्त्री भएपछि प्रचण्ड र गगन मिलेर नेपाल औषधि कम्पनि लिमिटेडलाई पुन सञ्चालन गर्ने निर्णय गरेका थिए । त्यसबाट आत्तिएका नीजि व्यवसायीहरु नारायणकाजी श्रेष्ठकहाँ पुगेर सरकारको औषधि उत्पादन गर्ने निर्णय बन्द गराउन आग्रह गरेका थिए ।

पोखरेलनिकट रहेका लोचन खतिवडाले दिएको जानकारी अनुसार गीरिराजले औषधि व्यवसायीसँग भेट गरी सरकारले औषधि उत्पादन गर्न नसक्ने भएकाले कुनै चिन्ता नगर्न आग्रह गरेका थिए । व्यवसायीहरुले सरकारी कम्पनि बन्द गराए आफूहरु आर्थिक सहयोग गर्न तयार रहेको गीरिराज र नारायणकाजीलाई जानकारी गराएका थिए । भेटमा नारायणकाजीले ‘त्यसो भए ठीकै छ नि, तपाईहरुलाई पनि हुने, हामीलाई पनि हुने’ भनेको व्यवसायी गणेश जोशीले बताए ।

स्रोतका अनुसार व्यवसायीहरुसँग छलफल पछि श्रेष्ठ स्वास्थ्य मन्त्रालय जसरी पनि माओवादीले लिनुपर्ने र गीरिराजलाई जसरी पनि स्वास्थ्य मन्त्री बनाउनुपर्ने प्रस्ताव लिएर लाजिम्पाट पुगेका थिए ।