बुधबार, असोज ०२, २०८१

गुल्मीका भिमलाल खरेल जापानको खोला किनारमा मृत फेला

टोकियो,३ साउन । जापानको टोकियोस्थित मिनामीसेन्जु शहरमा बस्दै आएका ५५ वर्षिय भिमलाल खरेल जापानकै एक खोला किनारमा मृत फेला परेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर ७ , साविकको रुपाकोट–९ दम्कुवा घर भएका उनी हिजो विहान एक खोलामा मृत फेला परेका हुन । मिनामीसेन्जु शहरमा फुलवारी रेष्टुरेण्टका चार वटा ब्राञ्च सञ्चालन गर्दै आएका खरेल अस्ती साँझ जापनीज समय साढे आठ वजेतिर घर नजिकैको फुलवारी रेष्टुरेण्टबाट अर्को रेष्टुरेण्ट तर्फ जाँदै गरेको उनका दाजु शेषकान्त खरेलले बताए । मृतककी श्रीमति हरिकलाका अनुसार साँझ साढे ९ वजेतिर उनको फोन बन्द भईसकेको थियो ।

राती अवेरसम्म नभेटिएपछि विहान प्रहरीलाई सुचित गर्दै त्यहाँको एक खोला किनारमा शव फेला परेको थियो । उनको मृत्यु रहश्यमय रहेको दाजु शेषकान्त खरेलले जानकारी दिए । उनले भने–‘ भाईको साथमा पैसा नभएको बुझिएको छ । अन्य परिचय खुल्ने कागज पनि उनिसंग नभए पछि एकजना ग्राहकको पर्चिबाट शवको पहिचान भएको बताईएको छ । जापानको प्रहरीले सिसीटिभिको माध्यमबाट उनको रहश्यमय मृत्युको अनुसन्धान गरीरहेको जानकारी परिवारजनलाई दिएको छ ।

२२ वर्ष अघि देखि जापानमा बस्दै आएका खरेल करिव ८ वर्ष भारतको मुम्वईमा मजदुरी गर्दागर्दै होटल लाईनको काम सिकेर जापान आइपुगेका थिए । मजदुरी गर्दागर्दै खरेल पछि फुलवारी रेष्टुरेण्ट सञ्चालन गर्न थाले त्यसलाई क्रमशः बृद्धि गर्दागर्दै रेष्टुरेण्टको संख्या चरवटा पुराए ।

उनका दाजु शोषकान्तकै आँकलनमा उनले एक अर्व भन्दा बढि सम्पत्ति कमाएका छन् । जापानमा घर, गाडी, चारवटा रेष्टुरेण्ट यता चितवनको भरतपुरमा दुईवटा घर र थुप्रै जग्गा समेत किनेका छन् । गुल्मीको दम्कुवामा पनि उनले प्रशस्त खेत किनेका छन र घर पनि बनाएका छन् । स्वर्गिय खरेल रुपाकोट र तुराङ्गका शैक्षिक र अन्य सामाजिक क्षेत्रका सवै भन्दा ठुला दानविर भनेर चिनिदै आएका थिए । मजुवामा क्याम्पस स्थापना गर्न स्थानिय समाजसेवी जुटे । खरेलले तत्काल डेढ लाख उपलव्ध गराएर खाता खोली दिए । नभन्दै उनको छिमेक मजुवामा मानका टिकाराम बहुमुखी क्याम्पस स्थापना भएरै छाड्यो । केहि दिन अघि मात्र रुपाकोटकै दमकुवा शिवालय निर्माणका लागि उनले ५ लाख ५१ हजार सहयोग पठाएका थिए । रुपाकोटकै देवि देउराली मन्दिरमा धानयान्चल लगाउँदा पनि उनले ५१ हजार पठाएका थिए ।

स्वर्गिय खरेलकी श्रीमति हरिकला , २१ वर्षिय छोरा अर्जुन र ३ छोरीहरु जापनमै रहेका छन् । उनकी आमाको मृत्यु भई सकेको छ भने ९३ वर्षिय उनका पिता यति वेला पुत्र शोकले भावविह्वल रहेका छन् । अरवौं सम्पत्तिका मालिक भए पनि उनि एउटा साधरण किशान मजदुर कै हैसियतबाट एक अर्कासंग प्रस्तुत हुन्थे । जताततै घर भए पनि उनले गाउँको घर र खेती किशानी बढि मन पराउँदे उनका नजिकका आफन्त अस्लेवाका अर्जुन कनौजेका अनुसार उनले केहि समयपछि आफु पनि गाउँ फर्केर व्यवसायीक कृषि पेशा गर्ने सोंचमा थिए । अँस्ती साँझ श्रीमति हरिकला संग अर्को रेष्टुरेण्टमा जान्छु र छिट्टै आउँछु भनेका खरेलले साढे ९ वजे श्रीमतिको फोन उठाउन समेत पाएनन् । जापानमा परिवारजन मात्र नभई उनलाई चिन्नेहरु विच रुवावासी चलेको र यता परिवारजनले सोधेको जवाफ दिन समेत नसक्ने अवस्थामा रहेको उनका भाई कृष्ण खरेलले जानकारी दिएका छन ।