काठमाडौं,३ साउन । धेरै लामो समयदेखि एकीकरणको चर्चामा रहेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीचको एकीकरण पुनः चर्चामा आएको छ ।
दुवै पार्टीले एकीकरणका लागि पुनः गृहकार्यमा लागेका छन् । स्थानीय तहको चुनावमा अलग अलग रहेर एउटै चुनाव चिन्हमा चुनाव लडेका यी दुई दलले नराम्रो परिणाम हात पारेको छ । दुई चरणको स्थानीय तहको चुनावमा आएको परिणामलाई समिक्षा गर्दै यी दुई दल तेस्रो चरणको हुन गइरहेको स्थानीय तहको चुनावभन्दा पहिले एकीकरण गर्ने निष्कर्षमा पुगेको छ ।
निर्णायक तहमा भएको छलफल र वार्ताले असोज २ गते हुन गइरहेको चुनाव भन्दा पहिले नै एकीकरण गर्ने सहमति गरेको छ तर यसलाई आआफ्नो पार्टीको केन्द्रीय समितिको बैठकबाट निर्णय गराउने भएको छ । फोरम नेपालको हिजो मात्र सकिएको राजनीतिक समितिको बैठकमा चुनावको समिक्षा हुँदा नयाँ शक्तिको बारेमा पनि छलफल भएको थियो । नयाँ शक्ति नेपालले मसाल चुनाव चिन्हबाट चुनाव लडेको तथा ठाउँ ठाउँमा तालमेल पनि गरेको थियो । त्यसको बारेमा पनि समिक्षा भएको थियो । तालमेल गरेर जानुभन्दा एकीकरण गरेर चुनावमा जाँदा राम्रो हुने निष्कर्ष बैठकले गरेको छ ।
पार्टीका सहमहासचिव अभिषेक प्रताप शाहले भने, ‘नयाँ शक्ति पार्टीसँग मात्र होइन, अन्य पार्टीहरुसँग पनि एकीकरणको कुरा चलिरहेको छ ।’ नयाँ शक्तिसँग पहिलादेखि नै चलिरहेको हुनाले एकीकरण हुने तर कहिले हुने कुराको टुगों नलागेको बताए ।
नयाँ शक्ति नेपालका नेता रामकुमार शर्माले यी दुई शक्तिबीच एकीकरण हुनु आवश्यक रहेको र यसका लागि गृहकार्य भइरहेको बताए । दुई दलबीच एकीकरण हुने हल्ला धेरै पहिलादेखि चलेको तर विभिन्न कारण हुन सकेको थिएन । स्थानीय तहमा आएको मतपरिणामका कारण दुई दल चाँडै एकीकरण गर्ने निष्कर्षमा पुगेको उनले बताए। शीर्ष तहमा यस विषयमा कुरानकानी भइरहेको र केही दिनमा टुगों लाग्ने विश्वास आफूहरुले लिएको बताउँदै उनले दुई वैकल्पिक शक्ति मिल्नुको आवश्यकता सबैले महसुस गरिरहेको बताए ।
साउन ९ र १० गते नयाँ शक्ति पार्टीको र ११ र १२ गते फोरम नेपालको केन्द्रीय समितिको बैठक बस्न गइरहेको छ । एकीकरणको बारेमा त्यसले टुगों लगाउनेछ ।