सोमबार, असोज २१, २०८१

अर्थतन्त्र ४ दशमलव ९ प्रतिशतले वृद्धि हुने एडीबीको प्रक्षेपण,मूल्यवृद्धि दर पाँच प्रतिशतको सीमाभित्रै रहने

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपालको यसवर्षको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशत हुने अनुमान गरेको छ ।

बैंकले बुधबार एशियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४ दशमलव ९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत थियो । आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता तथा पर्यटनसम्बन्धी सेवाको पुनरुत्थान, विद्युत् क्षमता वृद्धि लगायतले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सुधार देखिएको एडीबीको नेपालका लागि राष्ट्रिय निर्देशक आर्नो कोश्वाले बताए ।

मनसुन राम्रो हुँदा रोपाइँ सप्रिएकाले धानको उत्पादन बढ्ने एडीबीले उल्लेख गरेको छ । यस्तै एडीबीले यो वर्ष नेपालको मूल्यवृद्धि दर पाँच प्रतिशतको सीमाभित्रै रहने अनुमान गरेको छ । दक्षिण एसियामा सबैभन्दा धेरै भारतको आर्थिक वृद्धिदर सात प्रतिशत रहने प्रक्षेपण एडीबीको छ ।

सबैभन्दा कम पाकिस्तानको २.४ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि उत्पादनमा सुधार, उर्जा उत्पादनमा वृद्धि र पर्यटन आगमनमा वृद्धि लगायतले अर्थतन्त्र सुधारमा मद्दत गरेको एडीबीले जनाएको छ । वैश्विक अर्थतन्त्रमा समस्यामा आएका नेपालको पर्यटन घट्ने र जलवायुसम्बन्धीका ठूला घटनाले पनि नेपालको अर्थतन्त्रमा चुनौती सिर्जना गर्नसक्ने एडीबीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *