शनिबार, बैशाख १५, २०८१

ई-ट्वाइलेटदेखि मेट्रो रेल गुडाउने काठमाडौं महानगरको योजना

काठमाडौँ,३० असार । काठमाडौं महानगरपालिकाले सर्वसाधरणको सुविधाका लागि र्इ-ट्वाइलेट चलाउने भएको छ । सार्वजनिक शौचालयको चर्को अभाव रहेको राजधानी सहरमा महानगरपालिकाले र्इ-ट्वाइलेट चलाउने योजना ल्याएको हो ।

महानगरको प्रथम नगरसभालाई उद्घाटन कार्यक्रममा बोल्दै मेयर विद्यासुन्दर शाक्यले भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङदेखि ई-ट्वाइलेटसम्मका योजना ल्याउन लागिएको बताउनुभयो ।

महानगरपालिकाले ५० वटा स्मार्ट र ५० वटा ई–ट्वाइलेट महानगरभित्र निर्माण गरिने पनि उहाँले बताउनुभयो । आगामी वर्षभित्र बनिसक्ने यस्ता पब्लिक ट्वाइलेट स्मार्ट र इलेक्ट्रोनिक्स प्रविधिका हुने उहाँको भनार्इ थियो ।

त्यस्तै, विद्युतीय नक्सापासलाई सरल बनाउने विषय पनि मेयर शाक्यले कार्यक्रममा समेट्नुभएको । आधुनिक सुविधायुक्त शहरी यातायातका लागि मानोरेल, मेट्रो रेल, ट्रयाम र सिटी केबलबारको प्रयोगको सम्भाब्यताको पनि अध्ययन गरिने शाक्यले बताउनुभयो ।

मेयर शाक्यले पार्किङको समस्या हटाउन महानगरपालिकाभित्र स्मार्ट पार्किङ सिस्टम जोड्ने घोषणा गर्नुभयो । उहाँले भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङको निर्माण अघि बढाउने योजना नीति तथा कार्यक्रममै समावेश गर्नुभएको छ ।

महानगरपालिकाले यसअघि नै न्युरोडमा बहुतले पार्किङ निर्माणको प्रक्रिया अघि बढाइसकेको छ । खुलामञ्च र लैनचौरमा अण्डरग्राउण्ड पार्किङका लागि अध्ययन भइसकेको छ । ललितपुर महानगरसँगको सहकार्यमा बुढानिलकण्ठदेखि गोदावरीसम्म मोनो रेल चलाउनेबारे पनि सम्भाब्यता अध्ययन गर्ने आन्तरिक योजना बनाइएको छ ।

काठमाडौंमा साकइकल सञ्जाल विस्तार गर्न रिंगरोडको ग्रीन बेल्ट, पशुपतिदेखि टेकुसम्मको बाग्मती किनार र विष्णुमति किनारमा साकइल लेनको विकास गरिने महानगरको योजना छ ।