सोमबार, असोज २१, २०८१

फ्रेन्चाइज भलिबल लिगको खेलाडी र मुख्य प्रशिक्षकको नाम सार्वजनिक

काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज भलिबल लिगको खेलाडी र मुख्य प्रशिक्षकको नाम सार्वजनिक भएको छ । यसअघिनै मार्की खेलाडी सार्वजनिक गरेको आयोजक इन्फिनिटी ड्रिम्स प्रा.लि.ले शुक्रबार अन्य खेलाडी र मुख्य प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।

प्रतियोगितामा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेश, टिम गण्डकी, टिम चितवन र टिम कर्णालीले सहभागिता जनाउनेछन् । हरेक टोलीमा ९ नेपाली र ३ विदेशी खेलाडी राख्न पाउने आयोजकले जनाएको छ ।

प्रत्येक समूहमा ‘ए’ श्रेणीका एक, ‘बी’ श्रेणीका चार र ‘सी’ श्रेणीका तीन खेलाडी राख्न पाउने प्रावधान रहेको छ । बाँकी एक नेपाली खेलाडी ‘ट्यालेन्ट हन्ट’ बाट लिइने छ । ‘ए’ श्रेणीमा रहनेले १ लाख ५० हजार, ‘बी’ श्रेणीमा रहनेले १ लाख र ‘सी’ श्रेणीमा रहने खेलाडीले ५० हजार पारिश्रमिक पाउनेछन् ।

नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको चितवनको ‘बी’ श्रेणीमा सलिना बुढा मगर, जिनिशा विश्वकर्मा, एन्जेला प्रधान र सुनिता खड्का तथा ‘सी’ श्रेणीबाट भावना डाँगी, वाल्मीकि आचार्य र सरस्वती कट्टेल रहेका छन्  । निम्बस होल्डिङ्सको स्वामित्वमा रहेको चितवनको मुख्य प्रशिक्षकमा अर्जुन घिमिरे छन्  ।

गण्डकीको मार्की खेलाडीमा सरस्वती चौधरी रहेकी छिन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीमा प्रगति नाथ, लक्ष्मी चन्द, रिमा कुँवर, कविता भट्ट तथा ‘सी’ श्रेणीमा आरती चौधरी, स्नेहा ठगुन्ना, सरस्वती जैसी छन् । टोलीको मुख्य प्रशिक्षकमा रुपेशकुमार विष्ट छन् भने सौरभ केडियाले स्वामित्व लिएका थिए ।

यस्तै निरुता ठगुन्ना मार्की रहेको मधेश टोलीमा ‘बी’ श्रेणीमा पूजा थारु, संगम महत, जसना महतो र शान्ति तामाङ तथा ‘सी’ श्रेणीबाट हीरा केसी, आसिका क्षेत्री र एलिसा मानन्धर छन् । रोहित अग्रवाल र विशाल अग्रवालको स्वामित्वमा रहेको मधेशको मुख्य प्रशिक्षकमा भारत यादव छन् ।

सलिना श्रेष्ठ मार्की खेलाडी रहेको ललितपुरमा ‘बी’ श्रेणीमा पुनम चन्द, कामना विष्ट, सफिया पुन, निशा चौधरी र ‘सी’ श्रेणीमा अनुषा चौधरी, नेहा चौधरी र भावना तामाङ छन् । टोलीको स्वामित्व कोरसिंक नेपालले लिएका छन् भने मुख्य प्रशिक्षकमा उत्सव खड्का छन् ।

सुमित्रा रेग्मीको नेतृत्वमा रहेको कर्णालीले ‘बी’ श्रेणीमा मीना सुनार, मनीषा चौधरी, यमुना रसाइली, सुनीता राई, ‘सी’ श्रेणीबाट सृष्टि खड्का, गरिमा बोहरा, पशुपति बोहरालाई लिएको छ । राजेश बडडिया र प्रतीक अधिकारीले स्वामित्व लिएको कर्णालीको मुख्य प्रशिक्षकमा कुमार राई छन् ।