बुधबार, भदौ १७, २०८३

टोकियोमा नेपाली बक्सर निक्सन श्रेष्ठको शानदार जित

टोकियो । जापानमा व्यावसायिक बक्सिङ खेलिरहेका नेपाली युवा बक्सर निक्सन श्रेष्ठले शानदार जित हासिल गरेका छन्।

सेप्टेम्बर १ मा टोकियोस्थित प्रसिद्ध कोराकुएन हलमा आयोजित Dangan All 4 Rounds प्रतियोगितामा निक्सन श्रेष्ठले जापानी प्रतिस्पर्धी बुन्टा होरिउची (Bunta Horiuchi) लाई तेस्रो राउन्डमा टेक्निकल नकआउट पराजित गरेका हुन्।
साउथपो अर्थात् बायाँहाते प्रतिस्पर्धी होरिउचीविरुद्ध निक्सनले खेलको सुरुवातदेखि नै उत्कृष्ट दबाब सिर्जना गरेका थिए। आक्रामक प्रदर्शन गर्दै निरन्तर विपक्षीमाथि दबाब बनाएका निक्सनले तेस्रो राउन्डमा राइट ओभरह्यान्ड पञ्च प्रहार गरेका थिए।

उक्त प्रहारपछि होरिउची दबाबमा परेका थिए भने निक्सनले लगातार पञ्च प्रहार जारी राखेपछि रेफ्रीले खेल रोक्दै निक्सन श्रेष्ठलाई विजेता घोषित गरेका थिए।
शानदार जितसँगै २० वर्षीय निक्सन श्रेष्ठको व्यावसायिक बक्सिङ करिअरको रेकर्ड ३ जित, २ नकआउट (KO), २ हार र १ ड्रा पुगेको छ।

जापानको वाजिमा कोइची स्पोर्ट्स जिम (Wajima Koichi Sports Gym) बाट व्यावसायिक बक्सिङ खेलिरहेका निक्सनको यस जितले उनको प्रोफेसनल बक्सिङ करिअरलाई थप मजबुत बनाएको छ।

जापानको टोकियोस्थित कोगानेई बस्ने नेपाल रामेछापकाश्रेष्ठ उत्कृष्ट खेलाडीको रूपमा निरन्तर आफ्नो क्षमता प्रस्तुत गर्दै आएका छन् ।

यसमा तपाईको प्रतिक्रिया