दार्चुला,२७ असार । महाकाली नदीको कटानबाट दार्चुला जिल्ला सदरमुकाम खलंगालाई जोगाउने उद्देश्यले निर्माण गर्न लागिएको तटबन्ध भत्किन थालेको छ ।
अविरल वर्षाका कारण महाकालीमा बहाव बढेपछि प्याकेज नम्बर १० मा तटबन्ध निर्माणका लागि राखिएको ‘गेरभेटी रिटेनिङ वाल’ डेढ फिट भासिएको छ ।
भासिने क्रम जारी रहेमा र महाकाली नदीको बहाव बढ्दै गएमा दार्चुला सदरमुकाम खलंगा बजार खतरामा पर्ने भन्दै स्थानीय त्रासमा छन् । ‘तटबन्ध निर्माण हुन थालेपछि महाकालीमा पानीको बहाव जति बढेपनि सुरक्षित हुने आशमा रहेका खलंगाबासी तटबन्ध नै भासिन थालेपछि पुनः ०७० सालको बाढीको स्मरण गरिरहेका छौं,’ स्थानीय नरेश अवस्थीले भने ।
०७० साल साउन २ गते आएको महाकाली बाढीले सदरमुकाम खलंगामा ठूलो जनधनको क्षति भएको थियो ।
बाढीले कुरुप बनाएको जिल्ला सदरमुकामको रिङनताल क्षेत्रमा यसपालिको बाढीले पनि तटबन्ध भत्काउन सुरु गरेपछि स्थानीय त्रसित भएका हुन् । उक्त वाल महाकालीले बगाउने होे भने पुनः समस्या सिर्जना गर्नसक्ने महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशीलप्रसाद देवकोटाले अनुमान गरे ।
रिङनताल क्षेत्रमा पर्ने प्याकेज नम्बर १० मा निर्माण गरिएको ग्रेभेटी रिटेनिङवालको सपोर्टमा नदीमा रहेका ढुंगाहरु नदीको बहावले बगाएको छ । सपोर्टको अभाव हुँदा नदीको बहाव र पानीसँगै बगेर आएका ढुंगाले वालमा लगातार हान्ने गरेको तथा तल्लो भागमा कटान गरेकाले वाल भासिन सुरु भएको महाकाली नदी नियन्त्रण आयोजना कार्यालयले जनाएको छ ।