झापा। कक्षा १० को अन्तिम परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि श्री बाेलाेचाैक बहुउद्देश्यीय सहकारी संस्थाले नि:शुल्क कक्षा सञ्चालन गर्ने भएको छ ।
बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले एसईईमा धेरै विद्यार्थी अनुत्तीर्ण भएकाले त्यसलाई मध्यनजर गर्दै आगामी साउन २३ गतेदेखि हुने ग्रेड वृद्धि माैका परिक्षाका लागि सहकारीका सदस्य तथा उनीहरूका परिवारबाट ग्रेड वृद्धिमा सहभागी हुने विद्यार्थीका लागि नि:शुल्क कक्षा सञ्चालन गर्ने निर्णय गरेकाे हाे । भाेलि बिहिवारबाट बिहान ६ बजेदेखि ९ बजे सम्म सबै विषयकाे कक्षा सञ्चालन हुनेछ । यस्तै, उक्त नि:शुल्क कक्षामा पढाउनका लागि मनाेज कुमार शाह र डाक्टर धर्मेन्द्र कुमार शाहलाई शिक्षक नियुक्ति गरिएको छ ।
सहकारीका अध्यक्ष डा.धर्मेन्द्र कुमार शाहकाे अध्यक्षता तथा शिवसताक्षी नगरपालिका -४ का वडासदस्य सुमन लाल साहु, बाेलाेचाैक बजार व्यवस्थापन सल्लाहकार समिति संयाेजक पूर्ण कुमार शाह,नेपाल रेडक्रस साेसाईटी पाँचगाछी उप-शाखा सभापति मिता सिटाैला लगायत सहकारीका सञ्चालक समितिका सदस्यहरूकाे उपस्थितिमा बैठक सम्पन्न भएको थियाे ।
यसैगरी, शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आगिङ्ग तथा सम्बन्धन प्राप्त क्याम्पसका विद्यार्थीलाई परिचालन गर्ने भन्दै विश्वविद्यालयलाई पत्राचार गरेको छ । स्नातक तथा स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई परिचालन गरी सार्वजनिक विद्यालयमा अंग्रेजी, विज्ञान, गणित र निजी विद्यालयमा नेपाली र सामाजिक शिक्षा विषयमा कक्षा सञ्चालन गर्न मन्त्रालयले भनेको छ ।
यस्तै, शिक्षा तथा मानव श्रोत विकास केन्द्रले पनि विद्यार्थीलाई लक्षित गरी रेडियो नेपाल र नेपाल टेलिभिजन मार्फत् तीन विषय गणित, अँग्रेजी र विज्ञानको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
गत बिहीबार प्रकाशित एसईईको नतिजा अनुसार दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी नन् ग्रेडेड भएका थिए । एसईइमा अनुत्तीर्ण सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निर्णय गरेको थियाे ।
परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन्। तर, यसपटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एकपटक सबै विद्यार्थीलाई मौका दिने निर्णय गरिएको हाे ।