बिहिबार, बैशाख १३, २०८१

दिगो विकास एजेण्डा स्थानीयकरण हुन सुरु

गोरखा, २३ असार  । गोरखा जिल्लाको गण्डकी गाउँपालिकाले दिगो विकासको लागि आफ्नो दिर्घकालिन लक्ष्य निर्धारण गर्ने भएको छ । गाउँपालिकाका प्रमुख होमबहादुर रानाले दिगो विकासको लक्ष्य प्राप्त गर्ने अभियानको कार्यन्वयन गण्डकी गाउँपालिका बाटै आरम्भ हुने बताउनु भयो ।
सोमबार गण्डकी गाउँपालिकाको केन्द्र भुम्लिचोकमा पर्यावरणका लागि दक्षिण एशियाली संवाद (सेडेड) र राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नाफान) ले संयुक्त रुपमा आयोजना गरेको एक दिवसीय योजना निर्माण र दिगो विकास सम्वन्धमा नव निर्वाचित पदाधिकारीहरु सरकारी कर्मचारीहरु, शिक्षक, राजनैतिक पार्टीका प्रतिनिधि आदिको वीच व्यापक छलफल भएको छ ।
उक्त छलफल कार्यक्रममा काठमाण्डौं विश्वविद्यालयका डा. उद्धव प्याकुरेलले स्थानीय स्तरको विकासका वहुआयामिक पक्ष समेटेर कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्रमा दिगो विकासका तीन पक्षहरु – सामाजिक,वातावरणीय र आर्थिक पक्षको सुक्ष्म विश्लेषण गर्दै गाउँपालिकाले गाउँको विकास योजना निर्माणमा ध्यान दिनु पर्ने कुरालाई उजागार गरिएको थियो । स्थानीय श्रोत र साधनको अधिकतम उपयोग गरी स्थानीय स्तरमा नै रोजगारी श्रृजना गर्नुपर्नेमा डा. प्याकुरेलले जोड दिनु भएको थियो ।
उक्त छलफलमा कृषक, शिक्षक, राजनैतिक पार्टी प्रतिनिधिहरु, गाउँपालिकाका नव निर्वाचित प्रतिनिधिहरुले गण्डकी गाउँपालिकाले शिक्षा,स्वास्थ्य, वन, कृषि,यातायात, भौतिक संरचना,खानेपानी आदि विषयगत योजना निर्माण गर्दा ध्यानदिनु पर्ने विषयहरु वारे धारणा राख्नु भएको थियो ।
कार्यक्रमको अर्काे सत्रमा गाउँपालिकाको दुरदृष्टि र योजना तर्जुमा सम्वन्धमा भोला भट्टराईले एक प्रारुप प्रस्तुत गर्नु भएको थियो । उक्त प्रारुप (खाँका) मा गाउँपालिकाको उपलब्ध श्रोत साधनको अवस्था संकलन, प्रोफाइल तयारी, विकासको खाडल, गर्नुपर्ने दिर्घकालिन र अल्पकालिन योजना, आवश्यक लागत र अनुगमन÷मुल्यांकनका विविध पक्षहरु समेटिएको थियो ।
गाउँपालिका उपप्रमुख ललिता अधिकारीले राज्यले निर्धारण गरेको दिगो विकासको लक्ष्य हासिल गर्न स्थानीय तहको ठुलो भूमिका भएको हुनाले सबैको एकिकृत प्रयास आवश्यक भएको बताउनु भयो । गाउँपालिकाका कार्यकारी अधिकृत देवराज चौलागाईले दिगो विकास लक्ष्य लाई कसरी स्थानीयकरण गर्ने भन्ने छलफल भईरहदा गाउँपालिकाले आफ्ना कृयाकलापमा यस्तो विषयलाई प्राथमिकता दिनु निकै महत्वपूर्ण कार्य हो । यस तर्फ स्थानीय निकायको प्राथमिकताको विषय भएको बताउनु भयो । वडा अध्यक्षहरुको तर्फबाट बोल्दै वडा अध्यक्ष नवराज श्रेष्ठले दिगो विकास बारे वडा स्तरसम्म जानकारी प्रवाह र क्षमता विकास आवश्यक भएको बताउनु भयो ।
स्थानीय स्तरमा विषयवस्तुको प्रवाह र क्षमता विकासमा सेडेड संस्थाले कमिक रुपमा कार्यक्रम गर्दै जाने जानकारी संस्थाका प्रतिनिधि योगेन्द्र विजय दाहालले दिनु भयो । कार्यक्रमको सहजीकरण जलवायु परिवर्तन विज्ञ किरण कुमार बरामले गर्नु भएको थियो ।