मङ्गलबार, साउन ०१, २०८१

महाभारत गाउँपालिका पूर्ण विद्युतीकरण घोषणा,३४ सय १७ घर धुरीमा बल्यो बत्ती

काभ्रे । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकालाई पुर्ण केन्द्रीय विद्युतिकरण गाउँपालिका घोषणा गरिएको छ । सबै घरधुरीमा केन्द्रीय बिजुली बत्ती पु¥याउन सफल महाभारत गाउँपालिकालाई बिहिबार ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले संयुक्त रुपमा पुर्ण केन्द्रीय विद्युतिकरण गाउँपालिका घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सरकारले नेपालका सबै नागरिकहरुको घरमा सहज रुपमा बिजुली बत्ती पु¥याउने योजना सफल हुँदै गएको बताए । विद्युतको कार्यमा कुनै पनि समस्या भएको खण्डमा पालिका मार्फत केन्द्र सम्म पुर्याउन उनको आग्रह छ । आर्थिक उपार्जन र रोजगारी सिर्जना गर्ने लगायत शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत काम गर्न अब राज्यले ध्यान दिन आवश्यक रहेको मन्त्री बस्नेतको जोड थियो।

२०७५ सालबाट विद्युतीकरण सुरू भएकोमा यही जेठ महिनाभित्र महाभारतका सबै घरधुरीमा पहिलो पटक मिटर जडान गरी विद्युत् उपलब्ध गराइए पछि पूर्ण विद्युतीकरण भएको हो। गाउँपालिकामा कुनै पनि विपन्न नागरिक भएमा प्राधिकरणले निःशुल्क मिटर बक्स वितरण गर्ने नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । नेपालमा उत्पादित बिजुली निर्यात गर्न लागेको बताउँदै उनले बिजुलीको उपभोग बढाउन, लागत कम गर्न र निर्यात मार्फत मुलुक समृद्धि बनाउन प्रयत्न जारी रहेको बताए ।

यस्तै, पुर्व उर्जाराज्य मन्त्री तथा संविधान सभा सदस्य सुर्यमान दोङले बागमती प्रदेशको ३ जिल्लामा निर्माण हुदै गरेको ६३ मेघावाटको कोखाजोर जलाशयुक्त जलविद्युतको कार्यमा सहयोग गर्न आग्रह गरे। महाभारतको सबै बिकास निर्मार्णको काममा आफ्नो साथ सहयोग रहने उनले बताए । विकटतामा पनि अति विकट मानिएको महाभारत गाउँपालिका विद्युत्तको केन्द्रीय प्रसारण लाईनसँग जोडिएर उज्यालोमा बस्न पाउँदा हर्षित भएको अध्यक्ष जिम्बाले बताए ।

‘सामान्य भन्दा सामान्य आवश्यकताका लागि पनि बत्तिको आवश्यकता थियो, विकासको नयाँ युगमा प्रवेश गर्दा समेत गाउँपालिकाका नागरिकहरु अन्धकारमा बस्न बाध्य थिए’–अध्यक्ष जिम्बाले भने–‘संघीयताले विकासको नयाँ मुहार फेर्न सफल भएको छ । तीन तहका सरकार निर्माण पछि शुरु भएको महाभारत उज्यालो यात्राको क्रमले सफलता पाएको छ ।’ अध्यक्ष जिम्बाले केन्द्रीय विद्युतिकरण आयोजनलाई पुर्णरुप सफल पार्न महत्वपुर्ण भुमिका खेल्ने सबैलाई धन्यवाद ब्यक्त गरेका थिए ।

महाभारत गाउँपालिकाका ३४ सय १७ घर धुरी पहिलो पटक पूर्ण रुपमा विद्युत्तिकरण भएका छन् । गाउँपालिकामा विद्युतीकरणको लागि पहिलो चरणमा १ अर्ब ५६ करोड बजेट विनियोजन भएकोमा ८३ करोड रुपैया महाभारत र खानीखोलाका लागि ठेक्का सम्झौता भएको थियो। पछिल्लो ठेक्कामा ४३ करोडमा सम्झौता भएको थियो। महाभारतमा मात्रै ५० करोड भन्दा धेरै खर्च पूर्ण विद्युतीकरणमा खर्च भएको पालिकाले जनाएको छ।

जिल्लाको खानिखोला गाउँपालिका अझै पूर्ण विद्युत्तिकरणबाट वञ्चित छ । एकै पटक दुवै पालिकामा सुरु भएको आयोजना बजेट अभाव, कोरोना महामारी तथा विकटताका कारण समयमै सम्पन्न हुन नसकेको हो ।

निरन्तरको सक्रियताका कारण गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा सहितको स्थानीय सरकार, स्थानीय नागरिक तथा नेपाल सरकारका विभिन्न तहका जिम्मेवारी ब्यक्तिहरु, जिल्लाका जनप्रतिनिधीहरुले महाभारतलाई उज्यालो बनाउने अभियानमा साथ दिएकोमा अध्यक्ष जिम्बाले धन्यवाद दिए । उनी दोश्रो पटक पनि गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका हुन् ।