काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित रुपमा आएको दाबी गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले जनतामा आशा जगाउने किसिमको बजेट आएको दाबी गरेका हुन् ।
यसअघिका बजेटको प्रक्षेपण नमिलेका भन्दै यसवर्ष बजेट भने जनता र निजी क्षेत्रको आशा जगाउने खालको भएको बताए । उनले भने, ‘चालु आर्थिक वर्षको बजेटको प्रक्षेपण सबै मिलिरहेका थिएनन् । तर हामीले यसपाली जनता र निजी क्षेत्रलाई आशा जगाउने बजेट ल्याएका छौ ।’
उनले नयाँ चरणको आर्थिक सुधारको आवश्यकता भएकाले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्न लागिएको बताए। उनले कसैको दबाबमा करका दर हेरफेर नगरेको बताए ।
उनले तथ्य केलाएर करका दर हेरफेर गरिएको बताए । उनले भने, ‘करका दर हेरफेर गर्दा हामीले तथ्य केलाएर गरेका छौँ । कसैको दबाबमा दर हेरफेर गरेका छैनौँ ।’
अर्थमन्त्री पुनले अर्थतन्त्रमा देखिएका समस्या सुधार गर्नुपर्ने भन्दै युवाहरूमा देखिएका समग्र अर्थतन्त्र सुधारमा जोड दिनुपर्ने बताए । उनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने बताए ।
उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भएपनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए । उनले यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने बताए ।
समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने पनि उनले बताए । उनले नेपाली उत्पादन र लगानी प्रवर्द्धन गर्न आलु,प्याज र स्याउमा लागेको अभिवृद्धि कर खारेज गरेको बताए ।