मङ्गलबार, साउन ०१, २०८१

छ वर्ष खोरमा थुनिएका भीमराजको कथा

-मायालु लामा

बाल्यकालीन उमेर र स्वभाव निकै चञ्चल, जिज्ञासु, चकचके । पुरै गाउँ डुल्दा पनि कुनै थकान नलाग्ने उमेरमा पशुपंक्षी थुन्ने खोरमा थुन्दा र थुनिदाको पीडा कति हुन्छ होला ? नेपाली समाजमा गरिबी, अशिक्षा, चेतनाको अभाव लगायतका कारण यस्ता पीडादायक घटना र परिदृश्य आजको उन्नत व्यवस्था र गतिशीलय समयसँगै हिडिरहेको समाजमा पनि देखिने गरेका छन् ।

भर्खरै १७ वर्षको तन्नेरी उमेर, अधुरा सपना र बोझिलो जीवन । झट्ट हेर्दा जेल जस्तो देखिने जस्तापाताले छाएको साँघुरो खोरमा भीमराज रावतले ६ वर्ष काटिसकेका छन् । भीमराज जाजरकोटको हिमाली बस्ती बारेकोट गाउँपालिका–४ स्थित रावतगिरी गाउँका ४० वर्षीय कालिबहादुर रावतका जेठा सन्तान हुन् ।

जन्मेको चार वर्ष पछि अचानक मानसिक समस्या
२०६३ मा जन्मिएका भीमराज चार वर्षको उमेरसम्म स्वस्थ्य र तन्दुरुस्त थिए । ‘पहिले राम्रै बोल्ने, हिँड्डुल गर्ने, धेरै चञ्चले स्वभावको थियो, चार वर्षको उमेरमा अत्यधिक ज्वरो आयो, त्यसपछि थला परेको छोरालाई निको पार्न सकेनौ, उपचारका लागि धेरै प्रयास ग¥यौ तर निको भएन,’ कालिबहादुरले भने ।

भीमराजको उपचारका लागि कालिबहादुरले चार पटकसम्म काठमाडौं पु¥याए । मानिसक अस्पताल पाटन, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल र नेपालगञ्ज मेडिकल कलेज, रुकुमको चौरजहारी र जाजरकोट जिल्ला अस्पतालमा त कयौ पटक उपचारका लागि लगे पनि भीमराजको अवस्थामा कुनै उल्लेख्य सुधार आउन सकेन ।

अनि खोरमा थुनेर राख्न बाध्य परिवार
मानिसक रोगको सिकार भएपछि छोरालाई खोरमा थुन्न बाध्य भएको कालिबहादुर बताउँछन् । अस्वभाविक तरिकाले चल्ने, मात्तिने, उफ्रिने, पछारिने, अरू साथीहरूलाई चिथोर्ने, पिट्ने गर्न थालेपछि उनलाई बाध्य भएर खोरमा थुनियो ।

परिवारका अरू सदस्यले भिमराजलाई थाम्न नसकेका कारण कालिबहादुर रोजगारीका लागि घर छोडेर जानसम्म पाएका थिएनन् । कालिबहादुर भन्थे्, ‘उपचार र रेखदेख गरिदिने कोही संस्था वा निकाय भए मलाई मजदुरीका गर्ने बाटो खुल्थ्यो, जेठो छोरा त यस्तै भयो । अरू बाँकी रहेका ३ छोराछोरीको शिक्षादिक्षा राम्रो गर्न सकिन्थ्यो ।

भीमराजसहित ४ सन्तानका अभिभावक कालिबहादुर र तुल्सी दम्पत्तिको मुख्य पेसा कृषि हो । खोरमा थुनिएका भीमराज कालिबहादुर दम्पतीका जेठा सन्तान हुन् भने उनीहरूका तीन छोराछोरी प्रेम, पुस्तिका र आयुष क्रमशः कक्षा चार, दुई र एक कक्षामा गाउँकै भगवती माविमा अध्ययनरत छन् ।

गरगहना समेत बेचेर उपचार तर, प्रयास बिफल
भीमराजको आमा ३९ वर्षीया तुल्सी रावतले छोरालाई दिनभरी खोरमा थुन्ने गरेको बताउँछिन् । दिउँसभरी खोरमा थुन्छौ, छोरोको रेखदेख गर्न हामी सक्दैनौ भीमराजको बुवा नै हुनुपर्छ,’ उनले भनिन् । पाँच रोपनी जग्गा र सुनचाँदीसमेत गरी करिब १२ लाख रुपैयाँ छोराको उपचारमा खर्च भएको तुल्सी बताउँछिन् । बिरामी नभएको भए उमेर बढेर परिवारको भरोसा बन्थ्यो । तर, मानिसक रोगी भएका कारण कुनै अप्रिय घटना गराइदेला कि भनेर चिन्ता हुने गरेको उनी बताउछिन् ।

अन्ततः मानव सेवाको शरणमा
यसरी कष्टपूर्ण जीवन बिताइरहेका भीमराजलाई मानव मानवसेवा आश्रमको सुर्खेत शाखाले उद्धार गरेको छ । सोसेक नेपालका परामर्शदाता लक्ष्मी शाहीको समन्वयमा आश्रमले भीमराजलाई उद्धार गरेको हो ।

उनीमात्र होइन, मानवसेवा आश्रमले गत कात्तिक १७ गते जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको विनासकारी भूकम्पको कारण अति कष्टपूर्ण जीवन काटिरहेका नर बहादुर बस्नेत र देवी घर्तीलाई समेत सोही दिन उद्धार गरेको छ ।विगत १२,१३ बर्ष देखि मानसिक सन्तुलन गुमाई घर परिवारबाट टाढा रहेका बस्नेतलाई आश्रमले जाजरकोट जिल्ला बारेकोट गाउपालिका वडा-१, धैलाकोटबाट उद्धार गरेको छ भने घर्तीको बारेकोट गाउपालिका वडा-१ सिर्पाचौरबाट उद्धार भएको छ ।

विगत लामो समयदेखि मानवसेवा आश्रमले बेसहारा मानिसहरुको अवस्था अध्ययन तथा विवरण सङ्कलन, तिनको उद्धार,औषधोपचार तथा पालनपोषण, मनोचिकित्सकीय सेवा, जिविकोपार्जन सम्बन्धी तालिम, पारिवारिक पुर्नमिलन, परामर्श, अभिलेख तथा प्रतिवेदन साथै पुर्नस्थापना वा पुर्नमिलन हुन नसकेकाको दीर्घकालीन संरक्षण गर्दै आईरहेको छ भने २०८२ सम्म नेपाललाई बेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी, सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने लक्ष्य आश्रमले लिएको छ ।

आश्रममा औषधोपचार सहित खुल्ला वातावरणमा भीमराज
लामो समय खोरमा थुनेर राखिएका भीमराजलाई अहिले मानवसेवा आश्रमको सुर्खेत शाखामा औषधोपचार गरी खुल्ला नै राखिएको छ । औषधी र उहाँलाई परामर्श समेत दिइएको छ ।

यता उता हिडिरहने र ¥याल कारिरहने भीमराज आफ्नै तरिकाले खेल्ने हिँड्ने तर कुनै पनि उश्रृंङ्खल गतिविधि भने आश्रम ल्याए पछि नगरेको मानव सेवा आश्रमका कर्णाली प्रदेश संयोजक सञ्जिता गौतम बताउँछिन् । हाल सम्म भीमराजको गतिविधिलाई नजिकबाट नियाल्दा र निगरानी गर्दा खोरमा नै थुन्नुपर्ने अवस्थाको नरहेको उनको भनाई छ ।

भीमराजको उद्धारपछि उनको बाबुले आफूलाई श्रम मजदुरी गर्न बाटो खुलेको बताए । यसअघि भीमराजको रेखदेखको लागि बुवा नै घरमा बस्नुपर्ने बाध्यता थियो । अब खुल्ला भएर काम गर्न पाउदा परिवारको जीविकोपार्जन गर्न सहज हुने उनी बताउँछन् ।भिमराज जेठो सन्तान भएकाले अझै पनि छोरो निको भएर घर फर्किने र जिम्मेवारी सम्हाल्ने अपेक्षा परिवारको छ ।