काठमाडौं,१३ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको स्वच्छतालाई दुषित नबनाउन सरकार र निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोगबाट निर्वाचनको निश्पक्षता, गरिमा र स्वच्छता बाहेक आफ्नो पार्टीले कुनै सहुलियत नखोजेको पनि वताए । ‘स्वच्छ, निश्पक्ष, स्वतन्त्र निर्वाचनका लागि सहयोग पुर्याउनु सबैको दायित्व हो । सबैभन्दा बढी दायित्व सरकारको हो’ ओलीले भने, ‘यतिवेला निर्वाचन आयोगले आफू छु भनेर भन्ने भन्दा पनि मैदानमा मर्यादा राख्नेगरी प्रस्तुत भएको एमाले हेर्न चाहन्छ । कसैले प्रश्न उठाउनेगरी प्रस्तुत नहोस् भन्ने चाहन्छ । त्यसका लागि एमाले निर्वाचन आयोगलाई सहयोग गर्न तयार छ ।’
निर्वाचन आयोग, निर्वाचनमा खटाइने कर्मचारी र सरकार जनताको बेतनबाट चल्नु पर्ने साझा संयन्त्र भएकाले त्यो कसैको पक्षमा पनि दुरुपयोग हुन नहुने ओलीले वताए । ‘हामी निर्वाचन आयोग, सरकार, निर्वाचनमा खट्ने कर्मचारी र सुरक्षाकर्मी हाम्रा निम्ति अनुकुल होउन् वा हामीलाई सहुलियत दिउन् भन्ने चाहना राख्दैनौं’ ओलीले भने, ‘अरुले पनि त्यसलाई दुरुपयोग नगरुन् । निर्वाचन आयोगले पनि म स्वतन्त्र छु भनिरहनु पर्ने अवस्थाबाट मैदानमा ब्यवहारले आफ्नो मर्यादाको रक्षा गर्न सक्षम होओस् ।’
प्रधानमन्त्री स्वयं हप्तौंसम्म चुनाव प्रचारमा खेटेर र राजदूत समेत भोट माग्न हिंडेर सरकार र सत्तासीन पक्षबाट निर्वाचनको स्वच्छतालाई दुषित बनाइएको ओलीको भनाई थियो । ‘विदेशमा राष्ट्रको प्रतिनिधित्व गर्ने राजदूत भोट माग्न हिंड्नुको साटो मित्रराष्ट्रसँग राम्रो सम्बन्ध बनाउन लागेको भए हुन्थ्यो । प्रधानमन्त्रीले रहर भए आफैं उम्मेदवार भएको भए हुन्थ्यो यसरी राज्यको स्रोत साधन एउटा पार्टीको पक्षमा खटाउन आफैं नकुदेको भए हुन्थ्यो’ ओलीले भने, ‘जनतामा रहेको सार्वभौमसत्ता स्वच्छ रुपमा प्रकट हुन दिउँ, लोकतन्त्रको गरिमा बचाउँ भन्ने हामी चाहन्छौं ।’
पहिलो चरणको निर्वाचनमा राज्यका तर्फबाट विपक्षी दलका उम्मेदवारलाई कुटपीट गर्ने, कार्यकर्ताको हत्या गर्ने, बुथ कब्जा गर्ने र मतपत्र च्यात्ने काम भएको वताउँदै ओलीले सम्बन्धित पक्षले त्यसलाई नदेख्दा निर्वाचनको स्वच्छतामाथि प्रश्न उठेको वताए । ‘पहिलो चरणमा हामीले देख्यौं दोलखामा खाना खाँदै गरेका एमाले कार्यकर्तालाई सत्तासीन दलका पोलिटब्युरो सदस्यले नै हत्या गरे । प्रहरीले साथ लिएरै बुथ कब्जा गरेर दोलखामा आफैंले मत हालेको भिडियो तपाईंहरुले देख्नु भयो, सम्बन्धित पक्षले देखेन’ ओलीले भने, ‘पैसा बाँडेको तपाईंहरुले देख्नु भयो, मतपत्र च्यातेको देख्नु भयो । तर, एमाले बाहेकका उम्मेदवारले भने अनुसार मतगणना पनि दोहोरियो, मतदान दोहोर्याउने निर्णय पनि भयो । एमालेले भनेका कुरा कुनै पनि सुनिएन ।’
चुनावी नतिजा आउनै लागेको भरतपुरको मतगणना रोकेर अल्झाएर राखिएको र अहिले क्षणिक रुपमा त्यसबाट एमालेको जीत रोक्न सके पनि त्यसले दीर्घकालीन रुपमा नकारात्मक प्रभाव पारेको ओलीले वताए । ‘अहिले एमालेलाई केही ठाउँमा जित्न केहीबेर रोक्न त सक्नुहोला तर, भरतपुरमा अरु पनि त चुनाव आउँछन्’ ओलीले भने, ‘एमालेको जीत रोक्ने नाममा जनताको अभिमत रोक्दा लोकतन्त्रलाई भएको क्षतिको सजाय उनीहरुले नै पाउनेछन् ।’
ओलीले राजनीतिका नाममा चलाइएका हिंसात्मक अपराधको सञ्चालक सरकार रहेकोमा पनि आशंका गरे ।