सोमबार, भदौ ३१, २०८१

मुग्लिन सडक अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अपिल

चितवन, ११ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरोका कारण गएराति ९ बजेदेखि यातायात आवागमन अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित उक्त सडकको चार किलो, दुई किलो, खहरे र कालीखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको हो । चितवनका प्रहरी उपरीक्षक दीपक थापाले पहिरो खस्ने क्रम जारी रहेकाले राति पन्छाउन नसकेपछि आज बिहान ४ बजेबाट मात्रै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिनुभयो । ट्राफिक प्रहरीले अवरुद्ध सडक खुलाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई सार्वजनिक अपिल गरेको छ । राति पानी पर्ने क्रम र पहिरो खस्ने क्रम चलेकाले पहिरो हटाउन नसकिएको हो । पहिरोका कारण चितवनबाट काठमाडाँै र पोखरालगायत क्षेत्रमा जाने र आउने सवारीको लामो लाइन छ । गएको शुक्रबार मात्रै यहाँको कालीखोला नजिकै पहिरो खसेर १७ घन्टा पछि बाटो खुलेको थियो । सो पहिरोले बगाएर दुई प्रहरीको मृत्यु भएको थियो भने भ्यानसहित दुई प्रहरी बेपत्ता छन् । रासस