ललितपुर । प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता यही वैशाख १५ गतेदेखि सुरुआत हुने भएको छ ।
गोदावरी नगरपालिकाद्वारा गोदावरी–१० स्थित खेलमैदानमा आयोजना हुने प्रतियोगितामा काठमाडौँको नौ स्थानीय तहको नौ, ललितपुरको चार स्थानीय तहको पाँच र भक्तपुरको एक स्थानीय तहबाट एक टोली सहभागिता रहनेछ ।
प्रतियोगिताका बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा विजेता र उपविजेता टोलीले नगद पुरस्कार क्रमशः पाँच लाख, तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै अनुशासित टोलीलाई ५० हजार ‘म्यान अफ दी म्याच’ लाई ५० हजारका साथै उत्कृष्ट गोलकिपर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता प्रशिक्षकलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरमा खेल पर्यटनको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिताका लागि गोदावरी नगरपालिकाले २५ लाख बजेट विनियोजन गरेको बताइएको छ ।