सोमबार, असोज २१, २०८१

निर्वाचन आचारसंहिता पालना नगरेको भन्दै ध्यानाकर्षण

धनकुटा,१० असार । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता पालना नगरेको भन्दै दर्जनौं सञ्चारमाध्यमलाई सचेतपत्र तथा ध्यानाकर्षण गराएको जनाएको छ ।

पहिलो चरणको स्थानीय तह निर्वाचनमा सञ्चारमाध्यम पूर्णरुपमा तटस्थ रहन नसकेको भन्दै ८५ पत्रपत्रिका, ७ टेलिभिजन, ३६ अनलाइन र ५ रेडियो एफएम गरी १ सय ३३ सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराइएको काउन्सिल अध्यक्ष भवानी बरालले जानकारी दिए । निर्वाचनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको अवस्थाबारे जानकारी लिन धनकुटा सदरमुकाम पुगेका बरालले पत्रकार भेटघाटमा यस्तो जानकारी दिएका हुन् । बरालका अनुसार दोस्रो चरणको निर्वाचनमा पहिलो चरणभन्दा एक तिहाई बढी सञ्चारमाध्यमले आचारसंहिता उल्लंघन गरेका छन् । उल्लंघन गर्ने सञ्चारमाध्यमलाई पनि तत्काल सचेतपत्र र ध्यानाकर्षण गराइने भएको छ ।

काउन्सिलका अनुगमन अधिकृत रहम अब्दुल्ला मियॉले पत्रकार आचारसंहिता र काउन्सिलको भावी योजनाबारे जानकारी दिए । मियॉले प्रदेश नं.१ मा रहेका ६० एफएम, ८ टेलिभिजन, ३६ अनलाईन र ६० पत्रपत्रिकाको पनि अनुगमन गरिएको बताए । सो अवसरमा कयौं सञ्चारकर्मी समेत निर्वाचनमा उमेद्वार भइसक्दा पनि रिपोर्टिङ गर्दै आएको पाइएकोले यस्ता कार्यले निष्पक्ष पत्रकारिता नहुने सहभागी सञ्चारकर्मीले सुझाएका थिए ।