आइतबार, माघ १३, २०८१

प्रदेश र केन्द्रको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने : डा.महत

काठमाडौं,७ असार । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले मंसिर अन्तिमसम्म प्रदेश र केन्द्रीय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी सरकारले गृहकार्य सुरु गरेको बताएका छन् ।

दुई वटै निर्वाचन एकै चरणमा गर्नु पर्ने उनले बताए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने भने, ‘दुईवटा निर्वाचन छुट्टाछुट्टै गर्दा धेरै खर्चिलो र झन्झटिलो हुने भएकोले एकै चरणमा निर्वाचन गर्नुपर्छ । सरकारले त्यही अनुसार गृहकार्य सुरु गरिरहेको छ ।

एकै चरणमा निर्वाचन गर्दा राजनीतिक दलहरुलाई उम्मेदवारका लागि टिकट दिन पनि सहज हुने उनको जिकिर छ ।

राजपाको सहमतिमा प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणको लागि सारिएको भन्दै उनले असोज २ गतेपछि निर्वाचन नसर्ने जिकिर गरे । उनले भने, ‘असोज २ गतेको निर्वाचन अब कसैलेपनि टार्न सक्दैन ।’

राजपाले आफूहरुसँग एउटा सहमति गरेको र बाहिर आएर सहमति मान्दिन भनेको उनको दाबी छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्मालेपनि प्रदेश र केन्दि्रय संसदको चुनाव मंसिरको अन्तिमसम्ममा एकै चरणमा गर्नुपर्ने बताए । उनले भने,’समयको बचत भयो, पैसाको पनि बचत हुन्छ, मुलुकलाई भार पर्दैन, त्यसैले प्रदेश र केन्दि्रय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ । शर्माले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन समयमा नै सम्पन्न हुने बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकी तीनै तहको निर्वाचन सफल रुपमा सम्पन्न गराउने भन्दै शंका नगर्न आग्रह गरे । उनले प्रदेश नम्बर २ को चुनाव अघिसंविधान संशोधन र बाँकी राजनीतिक मागहरु सम्बोधन गर्न सरकारले पहल गर्नुपर्ने सुझाव समेत दिए ।

माओवादी नेता शर्माले जनसंख्याको आधारमा स्थानीय तहमको संख्या १० वा २० थप्दा कसैलाई पनि घाटा नहुने जिकिर गरे । कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा.बंशिधर मिश्रले सरकारले चुनाव नचाहेकै कारण प्रदेश नम्बर २ को चुनाव सारिएको आरोप लगाए ।