आइतबार, बैशाख १६, २०८१

आर्मीलाई पहिलो पटक आहा रारा गोल्डकपको उपाधि

पोखरा । विभागीय क्लव त्रिभुवन आर्मीले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा थ्रीस्टार क्लवलाई ३–० गोलले पराजित गर्दै पहिलो पटक आर्मी च्याम्पियन बनेको हो ।

आर्मीलाई जित दिलाउन जिलेप्सी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले गोल गरेका हुन् । पाँच पटक फाइनल पुगेको आर्मीले पाँचौं प्रयासमा उपाधि जितेको हो । यसअघि चार पटक फाइनल खेलेको आर्मी उपविजेतामै सीमित बनेको थियो ।

खेलको ३८ औं मिनेटमा आर्मीले थ्रीस्टारविरुद्ध अग्रता बनाएको थियो । जिलेप्सीजंग कार्काीले आर्मीलाई अग्रता दिलाएका हुन् । सिद्धान्त चौधरीको पासमा जिलेप्सीले हेडर गोल गरेका हुन् । पहिलो हाफमा एक गोलको अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

आर्मीका लागि दोस्रो गोल फत्तेमान घलेले गरेका हुन् । खेलको ८३ औं मिनेटमा घलेले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाएका हुन् । त्यसपछि खेलको इन्जुरी समयको चौथो मिनेटमा आर्मीले तेस्रो गोल गर्यो । बसन्त जिम्बाले गोल गर्दै थ्रीस्टारमाथि सहज जित निकाल्दै पहिलो पटक आर्मी च्याम्पियन बनेको हो ।